काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गोल्छालाई काठमाडौंको नक्सालबाट पक्राउ गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको शेयर कारोबारमा सहयोग गरेको विषयमा छानबिन गर्न गोल्छालाई पक्राउ गरिएको सीआईबी स्रोत बताउँछ। हाल भट्ट र अग्रवाल प्रहरी हिसासतमा छन्।
नेपाल धितोपत्र बोर्डले उक्त विषयमा आवश्यक अनुसन्धान गर्न सीआईबीलाई सिफारिस गरेको थियो। ‘सोही सिफारिसका आधारमा गोल्छालाई पक्राउ गरिएको हो’, स्रोतले भन्यो।
गोल्छाले गत फागुन २५ गते हिमालयन रिइन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए। उनी नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन्।












