काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने सम्झौता गर्ने कम्पनीको संख्या ७ पुगेको छ। यसअघि नेप्सेले ५ कम्पनीसँग बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता भएको जानकारी गराएको थियो।
नेप्सेले आज जारी गरेको सूचनाअनुसार सम्झौता गर्ने सूचीमा यती बुअ्ररी र नेपाल चिया विकास निगम थपिएको हो। यसअघि बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयर शिलबन्दी बोलपत्रसम्बन्धी कार्य सञ्चालन गर्न नेप्से नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल्स र पूर्वाञ्चल ल्युब आयलसँग सम्झौता गरेको थियो।
बुक बिल्डिङ विधिमार्फत यती बुअ्ररीले ५० रुपैयाँ अंकित दरका कुल ८ लाख ६० हजार ८०० कित्ता र नेपाल चिया विकास निगमले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख १६ हजार ४८० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ।
यसअघि नेप्सेमा नर्भिक इन्टरनेसनल हस्पिटलले ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ मिल्सले १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टिल्सले १८ लाख कित्ता र पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्ने सम्झौता गरेका थिए। यी ५ वटै कम्पनीको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।












