काठमाडौं । नेपाल अग्रणी निजी वायुसेवा प्रदायक बुद्ध एयरले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)को ५ प्रतिशत शेयर किन्ने प्रस्ताव गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नेपाल एयरलाइन्सको सुधारका लागि सुझाव पेस गर्दै यस्तो प्रस्ताव गरेका हुन्। योसँगै उनले नेपाल एयरलाइन्समा नेपाल सरकारको शेयर स्वामित्व ५१ प्रतिशत कायम गर्ने, बुद्ध एयरसहित ४ रणनीतिक संस्थालाई २० प्रतिशत बिक्री गर्ने र सर्वसाधारण नेपालीलाई २९ प्रतिशत शेयर बिक्री गर्ने सुझाव पनि दिएका छन्।
नाफा आर्जन गर्न सुरु गरेपछि नेपाल एयरलाइन्समा सरकारको शेयर स्वामित्व २५ प्रतिशत कायम गरी बाँकी २६ प्रतिशत सर्वसाधारणलाई आइपीओ जारी गर्ने सुझाव पनि बस्नेतले दिएका छन्।
बस्नेतले १० अर्ब रुपैयाँभन्दा ठूलो कारोबार भएका र इक्राद्वारा गरिने साख मूल्यांकनमा ए रेटिङ प्राप्त गरेका नियमनको परिधिमा रहेका ४ संस्थाहरुलाई जनही ५ प्रतिशतका दरले शेयर बिक्री गर्न सुझाव मन्त्रालयलाई दिएका छन्। व्यापक राष्ट्रिय स्वामित्व तथा पारदर्शिता सुनिश्चित गर्ने गरी सर्वसाधारण नेपालीलाई २९ प्रतिशत शेयर बिक्री गर्न पनि बस्नेतको सुझाव छ।
यस्ता छन् बुद्ध एयर ५ प्रतिशत शेयर किन्न खोज्नुका कारण
- करिब तीन दशकदेखि शून्यबाट सुरु गरी राज्यका नियम कानुनको परिधिमा रहेर (बाई द बुक) निरन्तर नाफामूलक रुपमा व्यावसायिक विमान सेवा सञ्चालन गरेको अनुभव।
- केन्द्रीय व्यवस्थापन छनौट, फ्लिट (जहाजहरु) छनौट, व्यावसायिक योजना÷स्ट योजना तथा प्राविधिक सञ्चालनसम्बन्धी व्यवस्थापकीय निर्णयहरुमा व्यावसायिक मार्गदर्शन तथा नेपाल वायुसेवा निगमको पुनःपरीक्षणका साथै प्रारम्भिक मूल्यांकन गर्नसक्ने क्षमता।
- नेपाल वायुसेवा निगमले अत्याधिक स्रोतसाधन खर्च गर्ने तर घाटा भोगिरहनुपर्ने विद्यमान नियती व्यवस्थापन साझेदार रहेको पहिलो दिनदेखि नै अन्त्य गर्ने सुनिश्चितता।
- सबै नेपाली साधारण शेयरधनी तथा लगानीकर्ताको लगानी संरक्षण।
- जहाजहरुको संख्या (फ्लिट) विस्तार क्षमता– सरकारले जहाजको संख्या बढाउनका लागि लगानी वा पूर्ण प्रत्याभूति प्रदान गर्न सक्ने अवस्था नरहेकाले सार्वजनिक निजी साझेदारी ढाँचाले पर्यटन लगानी तथा वृद्धिका लागि आवश्यक चुस्तता प्रदान गर्ने। जहाजहरु व्यावसायिक क्षमताका आधारमा प्रोजेक्ट फाइनाइनसिङबाट भित्र्याउने।
मन्त्रालयले गत वैशाख २ गते नेपाल एयरलाइन्सको सुधारका लागि सुझाव मागेको थियो।












