काठमाडौं । नेपाली बजारमा वर्ष २०८२ मा सुन र चाँदीको भाउ उछाल आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०८२ सालको अन्तिम दिन चैत ३० गते प्रतितोला छापावाल सुनको २ लाख ९६ हजार ७०० रुपैयाँ किनबेच भयो। अघिल्लो वर्ष २०८१ को चैत ३१ गते प्रतितोला छापावाल सुन १ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो वर्ष २०८१ को तुलनामा २०८२ सुनको भाउ १ लाख १० हजार १०० रुपैयाँले बढेको छ। जुन ५९ प्रतिशतले बढी हो।
वर्ष २०८२ मै सुनको भाउले नयाँ कीर्तिमान कायम गर्यो। फागुन १९ गते प्रतितोला सुनको भाउ ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भयो। यो भाउ नेपाली बजारमा हालसम्मकै उच्च हो।
यसैगरी अघिल्लो वर्ष २०८१ चैत ३१ गते चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो। गत वर्ष २०८२ चैत ३० गते चाँदी ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो वर्षको तुलनामा चाँदी २ हजार ९४० रुपैयाँ अर्थात १५० प्रतिशतले बढेको छ।
२०८२ सालमा चाँदीको भाउले पनि नयाँ कीर्तिमान रच्यो। माघ १४ गते प्रतितोला चाँदी ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
पछिल्लो समय विश्वका विभिन्न देशबीच चलिरहेको द्वन्द्वले सुनको भाउ बढेको हो। युद्धका बेला सुरक्षित लगानीको क्षेत्रका रुपमा सुनलाई लिइन्छ।
अर्कोतर्फ विभिन्न देशका केन्द्रीय बैंकहरुले सुनको भण्डार बढाइरहेका छन्। जसले गर्दा सुनको माग बढ्दा भाउ आकासिएको हो।












