काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले शेयर बजारमा सबै पारदर्शी हुने भएकोले सम्पत्ति शुद्धीकरणको डन्डा चलाउनै नपर्ने बताएका छन्।
अर्थ मन्त्रालयमा आज स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिमण्डलसँगको छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्। ‘शेयर बजारमा सबै विषय पारदर्शी हुन्छन्। कसले कति कर तिरे भन्ने विषय पारदर्शी भएका कारण कोही पनि डराउनुपर्ने अवस्था छैन’, उनले भने, ‘सरकारले छानी–छानी कसैलाई पनि धरपकड गर्ने र शेयर बजार बिथोल्ने मनसाय राखेको छैन।’
पुँजीबजार आफैँमा पारदर्शी व्यावसायिक क्षेत्र रहेका कारण कोही पनि अत्तिनु नपर्ने वाग्लेको भनाइ थियो। ‘निजी क्षेत्रले १० जनामा ९ जना मान्छेलाई रोजगार दिने क्षेत्र भएका कारण यसलाई हतोत्साहित गर्ने कुनै पनि सरकारको मनसाय नभएको उनले बताए।
सरकारले निजी क्षेत्रलाई थप फराकिलो बनाउने अर्थमन्त्री वाग्लेले बताए। ‘यो सरकार भनेको २०४८ सालपछिकै सबैभन्दा उदार सरकार हो’, उनले भने, ‘निजी क्षेत्रका कारणले अर्थतन्त्रको आधार नै फराकिलो हुन्छ। अहिले कसैले शेयर बजारमा चलखेल गर्न थाले हामी नियमन गर्छौं, धितोपत्र बोर्डलाई पनि चुस्त बनाउने छौँ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को घोषणापत्रमा नै पुँजीबाजरलाई प्रथामिकता दिइएको अर्थमन्त्री वाग्लेले बताए। ‘पुँजीबजार एक अनुकरणीय व्यवसाय भएका कारण अन्य क्षेत्रलाई पनि यस्तै बनाउनुपर्छ’, उनले भने।
नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गर्ने विषयमा अर्थमन्त्री वाग्लेले जोड दिए।
भेटमा सहभागी ब्रोकर्स सदस्यहरुले अहिले पुँजीबजारमा साना लगानीकर्ताको मनोबल खस्केका कारण अर्थमन्त्रीले नेप्से र सेबोनलाई राखेर पत्रकार सम्मेलन गर्नुपर्ने विषयमा जोड दिएका थिए। अर्थमन्त्री वाग्लेले पुँजीबजारमा विश्वासको वातावरण बनाउने जिम्मेवारी आफ्नो पनि रहेको कारण यस विषयमा पनि आगामी दिनमा सोचविचार गर्ने आश्वासन दिए।












