काठमाडौं । सरकारले वैदेशिक रोजगारसँग सम्बन्धित गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ‘श्रमाधान कल सेन्टर’ को व्यापक प्रचारप्रसार गर्न निर्देशन दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवाला निकायहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।
बोर्डले वैदेशिक रोजगार व्यवसायी संघ, सूचीकृत स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू, अभिमुखीकरण तालिम प्रदायक संस्थाहरू, बीमा कम्पनीहरू र बैंकहरूलाई आफ्नो कार्यालय परिसरमा ‘श्रमाधान कल सेन्टर’ को जानकारीमूलक बोर्डहरू अनिवार्य रूपमा राख्न भनेको छ।
श्रमिकहरूको समस्यालाई सुरक्षित र व्यवस्थित बनाउन तथा वैदेशिक श्रम आप्रवासन चक्रलाई मर्यादित बनाउनका लागि प्रचारप्रसार सामग्रीहरू तोकिएको मापदण्ड (स्ट्यान्ड बोर्ड, साइन बोर्ड, फ्लेक्स वा डिजिटल बोर्ड) अनुसार सबैले देख्ने गरी राख्न बोर्डले अनुरोध गरेको छ। यसरी निजी क्षेत्रका संस्थाहरू (म्यानपावर, मेडिकल, बीमा) लाई नै अनिवार्य रूपमा प्रचारप्रसार गर्न लगाउनुले यसलाई अझ बढी प्रभावकारी बनाउन खोजिएको देखिन्छ।
यो व्यवस्थाले वैदेशिक रोजगारमा जाने वा विदेशमा रहेका श्रमिकहरूलाई श्रम मन्त्रालयसँग सम्बन्धित कुनै पनि जिज्ञासा वा समस्या परेमा श्रमिकले सीधै कल सेन्टरमा सम्पर्क गरी समाधानको पहल गर्न सक्नेछन्। म्यानपावर, मेडिकल सेन्टर वा बैंक जाँदा नै त्यहाँ राखिएका बोर्डबाट कल सेन्टरको नम्बर र सुविधाहरू थाहा पाउने हुँदा श्रमिकहरू ठगी हुनबाट जोगिनेछन्।












