काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया पारित गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले माघ २७ गते मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका जारी गरेको थियो। निर्देशिकामा मार्जिन कारोबार सुविधा फागुन २१ गतेबाट लागू भनिएको छ। तर, नेप्से माजिक कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया चैत १२ गते जारी गरेको हो। अब ब्रोकरहरुले यो सुविधा कार्यान्वयनमा ल्याउन बाटो खुलेको छ।
मार्जिन कलसम्बन्धी व्यवस्था
(१) शेयरको बजार मूल्यमा हुने गिरावटका कारण मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद गरेको शेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्ने दायित्व लगानीकर्ताको हुनेछ।
(२) लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेको अवस्थामा कारोबार सदस्यले मार्जिन कल गर्नुपर्नेछ।
(३) उपदफा (२) अनुसार मार्जिन कल गरेको अर्को कारोबार दिनको कारोबार सुरु हुनु अगाडि सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोबारयोग्य शेयर जम्मा गरी कम्तीमा सम्भार मार्जिन कायम गर्नुपर्नेछ।
(४) मार्जिन कल गरेको दोस्रो कारोबार दिनसम्म पनि सम्बन्धित लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा कारोबार सदस्यले सम्भार मार्जिन कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाताअन्तर्गतका कुनै पनि शेयर बिक्री गर्न सक्नेछ।
(५) यस कार्यप्रक्रिया अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि मार्जिन कल गरेपश्चात कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको मार्जिन १५ प्रतिशत वा सोभन्दा कम भएमा कारोबार सदस्यले लगानीकर्ताको मार्जिन कारोबार खातामा सम्भार मार्जिन कायम गर्न आवश्यक पर्ने शेयर बिक्री गर्न सक्नेछ । यसरी धितोपत्र बिक्री गर्दा कारोबार सदस्यलाई लगानीकर्ताको अनुमति आवश्यक पर्ने छैन।
(६) उपदफा (५) को अवस्था र मार्जिन कर्जाको भाखा समाप्त भई नवीकरण नभएको वा नगद भुक्तानी गरी मर्जिन कर्जा चुक्ता नगरेको अवस्थामा बाहेक कारोबार सदस्यले अन्य कुनै कारणले मार्जिन खातामा रहेका शेयर बिक्री गर्न सक्ने छैन।
(७) लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा कारोबार सदस्यले लगानीकर्तासँग उक्त मार्जिन कायम गर्न आवश्यक रकमबराबरको धितोपत्र बजारमा सूचीकृत ‘ए’, ‘बी’ र ‘जी’ वर्गमा रहेका संगठित संस्थाको शेयर धितोको रुपमा लिन सक्नेछ। उक्त शेयरको मूल्य गणना गदां बजार मूल्यको ६० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्नेछ।
(८) मार्जिन खाताअन्तर्गत रहेका शेयरमा सूचीकृत संगठित संस्थाहरुले बोनस शेयर जारी गर्ने भएमा दाखिल खारेज बन्द (बुक क्लोज) पश्चात् मार्जिन खाताको वास्तविक मार्जिन गणना गर्दा उक्त शेयरले प्राप्त गर्ने बोनस शेयरलाई बजार मूल्यको आधारमा गणना गर्नुपर्नेछ।
(९) उपदफा (८) बमोजिमको अवस्थामा प्राप्त हुने बोनस शेयर स्वतः धितो बन्धकमा जानेछ।
(१०) हकप्रद शेयरका सम्बन्धमा कारोबार सदस्यले देहायअनुसार गर्नुपर्नेछ:
- (क) मार्जिन खाताअन्तर्गत रहेका शेयरमा सूचीकृत संगठित संस्थाको विषेश वा साधारण सभाले हकप्रद शेयर जारी गर्ने भएमा कारोबार सदस्यले हकप्रदको अनुपात हेरी उक्त धितोपत्रहरुको लागि छुट्टै सम्भार मार्जिन तोक्न सक्नेछ।
- (ख) खण्ड (क) बमोजिमको कारणले सम्भार मार्जिन नपुग हुन आएमा सात कारोबार दिनको समय दिई सम्भार मार्जिन कायम गर्न कारोबार सदस्यले मार्जिन कल गर्न सक्नेछ । सात कारोबार दिनमा कारोबार सदस्यले तोकेको सम्भार मार्जिन कायम गर्न नसकेमा आठौँ कारोवार दिन पश्चात् वा दाखेलखारेज बन्द (बुक क्लोज) हुनुभन्दा पाँच दिनअगावै सम्भार मार्जिन कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्री गर्न सक्नेछ।
(११) मार्जिन खाताअन्तर्गत रहेका शेयरको कारोबार मर्जर, एक्युजिसन वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा आवश्यकताअनुसार जोखिम हेरी कारोवार सदस्यले थप सुरक्षण माग गर्न सक्नेछ । यससम्बन्धप् व्यवस्था कारोबार सदस्यको कार्यप्रक्रियामा उल्लेख गर्नुपर्नेछ।
(१२) मार्जिन कलपश्चात नगद वा थप शेयर जम्मा गरिएको मार्जिन खातामा रहेका शेयरको बजार मूल्य वृद्धि भई प्रारम्भिक मार्जिनभन्दा बढी हुन गएमा सम्बन्धित लगानीकर्ताले प्रारम्भिक मार्जिनभन्दा कम नहुने गरी थपिएको नगद वा शेयर फिर्ता लिन वा बिक्री गर्न सक्नेछ।
(१३) सम्भार मार्जिन कायम गर्न लगानीकर्ताको नियमित हितग्राही खाताबाट मार्जिन कारोबार हितग्राही खातामा शेयर स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्नेछ।
(१४) कारोबार सदस्यले शेयर बिक्रीपश्चात सम्बन्धित लगानीकर्तासँग हिसाब फछ्यौट गरी सोको जानकारी नेप्सेलाई गराउनुपर्नेछ।












