काठमाडौं । लन्डनमा रहेको परम्परागत बीमा बजार लन्डनको लोयड्सले मध्यपूर्वमा जारी द्वन्द्वको बाबजुद पनि होर्मुज स्ट्रेट पार गर्ने जहाजहरुका लागि बीमा कभरेज प्रदान गर्न जारी राख्ने घोषणा गरेको छ।
लोयड्सका सीईओ प्याट्रिक टियरननले ब्लुमबर्ग टेलिभिजनलाई एक अन्तर्वार्तामा भने कि बढ्दो सुरक्षा जोखिमका कारण हाल कम ढुवानी कम्पनीहरुले प्रणाली प्रयोग गरिरहेका छन्। जसले गर्दा नयाँ बीमाको माग घटेको छ।
विश्वको लगभग २० प्रतिशत तेल, ग्यास र मलजस्ता अन्य आवश्यक सामानहरु होर्मुजबाट जान्छन्। यद्यपि, इरान र अमेरिका÷इजरायलबीचको द्वन्द्व सुरु भएदेखि यो महत्वपूर्ण मार्ग लगभग ठप्प भएको छ।
लोयड्स मार्केट एसोसिएसन (एलएमए)ले बीमा कभरेज कायमै रहेको बताए पनि जोखिम बढ्दै जाँदा प्रिमियमहरु उल्लेखनीय रुपमा बढेका छन्। सान्दर्भिक स्रोतहरुका अनुसार युद्ध जोखिम बीमा प्रिमियम हाल जहाजको कुल मूल्यको लगभग ५ प्रतिशत पुग्छ। जुन द्वन्द्वको सुरुआतको तुलनामा लगभग पाँच ुणा बढी हो। सीईओ प्याट्रिक टियरननले भने, ‘समुद्री युद्ध जोखिम बीमाको लागत अत्यन्तै परिवर्तनशील हुन्छ। परिस्थितिमा निर्भर गर्दै प्रिमियम अचानक बढ्न वा घट्न सक्छ।’
प्याट्रिकका अनुसार यस प्रकारको बीमाका लागि प्रिमियम शान्तिको समयमा धेरै कम हुन्छ तर संकटको समयमा तीव्र रुपमा बढ्छ। तैपनि, समग्र बीमा उद्योगमा यस क्षेत्रको हिस्सा सीमित रहन्छ।
एलएमएको संयुक्त युद्ध समितिले बीमा कभरेज अवस्थित भए पनि प्रत्येक केसमा जोखिमको मूल्यांकन गर्दै केस–दर–केसका आधारमा निर्णयहरु लिइँदै आएको जनाएको छ। समितिका अनुसार २५ भन्दा बढी व्यावसायिक जहाज पहिले नै आक्रमण भइसकेका छन्।
यसैबीच अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी)का अनुसार यसले यस मार्गमा ढुवानी पुनः सुरु गर्ने उद्देश्यले चुब लिमिटेडसँग २० अर्ब डलरको पुनर्बीमा ब्याकस्टप सिर्जना गरिरहेको छ। यद्यपि, मुडिज रेटिङ्सले यो पहलले संकटलाई पूर्ण रुपमा समाधान नगर्ने स्पष्ट पारेको छ। ‘किनकि यसमा दायित्व कभर समावेश छैन’, मुडिजले भनेको छ।
यसैबीच बेलायती अर्थमन्त्री राहेल रिभ्सले हालै लोयडका अध्यक्ष चाल्र्स रक्सबर्गसँग भेटेर होर्मुजबाट ढुवानी जारी राख्न बीमा सहयोग र आवश्यक परेमा बेलायती तेल भण्डारको प्रयोगका बारेमा छलफल गरेकी छन्।
सीईओ प्याट्रिकका अनुसार यस अवस्थामा सार्वजनिक र निजी क्षेत्रहरुबीचको सहयोगी प्रयासहरु महत्वपूर्ण छन्। ‘हामी यस विषयमा नियमित संवादमा छौँ’, उनले भने।
सुरक्षा जोखिम बढेका कारण होर्मुजमा ढुवानी सञ्चालन रोकिएको भए पनि बीमा कभर भने कायमै छ। यद्यपि, यो आवश्यक मार्ग चाँडै सामान्यमा फर्किन सक्षम हुनेछ कि छैन भन्ने बारेमा उच्च प्रिमियम र सुरक्षा चिन्ताहरु कायमै छन्। यो अवस्थाले विश्वव्यापी ऊर्जा बजार र समुद्री बीमा क्षेत्रका लागि दीर्घकालीन प्रभाव पार्न सक्छ। –एजेन्सी












