काठमाडौं। बीमा कम्पनीहरुको नियमनलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल बीमा प्राधिकरणको गैरस्थलगत शाखाले स्थलगत निरीक्षणका क्रममा देखिएका प्रमुख कैफियतहरुलगायतका विषयहरुको अध्ययन विश्लेषण गरी सघन गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनको मस्यौदा तयार गरेको छ।
मस्यौदा तयार गर्दा बीमकहरुबाट त्रैमासिक रुपमा प्राप्त हुने आन्तरिक लेखापरीक्षण प्रतिवेदन, परिपालन प्रतिवेदन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रतिवेदनमा देखिएका कैफियत र बीमकको स्थलगत निरीक्षणका क्रममा देखिएका कैफियतहरुको अध्ययन विश्लेषण गरिएको जानकारी शाखाले दिएको छ।
यसैगरी प्राधिकरणबाट जारी नीति, नियम र निर्देशिकाको परिपालना, बीमकहरुको वित्तीय विवरण स्वीकृतका क्रममा देखिएका कैफियत र दिइएका सर्तहरुको पालना लगायतका विषयहरुमा समेत अध्ययन विश्लेषण गरी प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिइएको शाखाले जनाएको छ।












