काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरको इजाजतपत्र (लाइसेन्स) नवीकरणमा कडाइ गरेको छ।ब बीमा सर्भेयर लाइसेन्सको म्याद सकिएको ३ महिनाभित्र नवीकरणका लागि निवेदन नगरे स्वतः खारेज हुने भएको छ।
नेपाल बीमा प्राधिकरणले आज बीमा सर्भेयरको इजाजतपत्र (लाइसेन्स) नवीकरणका लागि ५ बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। प्राधिकरणको चैत ११ गतेको निर्णयानुसार बीमा ऐन, २०७९ को दफा ९५ बमोजिम इजाजतपत्रको म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र इजाजतपत्र नवीकरणका लागि निवेदन पेस नगर्ने बीमा सर्भेयरको इजाजतपत्र स्वतः खरेज हुने व्यवस्था गरेको छ।
त्यस्तै निर्देशनमार्फत बीमा सर्भेयरले इजाजतपत्र नवीकरण गर्न बीमा नियमावली, २०८१ को नियम ४८ को उपनियम (१) बमोजिम बीमा सर्भेयरले इजाजतपत्रको अवधि समाप्त हुनुअगावै बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात पेस गर्नुपर्नेछ। बीमा सर्भेयरको इजाजतपत्र नवीकरणका लागि बीमा नियमावलीअनुसारको नवीकरण दस्तुर तथा नियमन दस्तुर नेपाल बीमा प्राधिकरणको नाममा नबिल बैंकमा रहेको खाता नं. ०१११००१३०११००१ मा रकम जम्मा गर्नुपर्ने उद्देश्यसमेत उल्लेख गरी नवीकरण शुल्क जम्मा गरेको निस्सा वा भौचर पेस गर्नुपर्नेछ। जसअनुसार व्यक्तिगतको हकमा ११ हजार रुपैयाँ र संस्थागतको हकमा २१ हजार रुपैयाँ रहेको छ।
बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात र इजाजतपत्र नवीकरण शुल्क जम्मा गरेको बैंक भौचर प्राधिकरणको केन्द्रीय कार्यालयमा चैत्र मसान्तसम्म जम्मा गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ। बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा (१) बमोजिम इजाजतपत्रको अवधिभित्र नवीकरण गर्न नसकेका बीमा सर्भेयरले म्याद सकिएको अवधिदेखि ३ महिनाभित्र विलम्ब शुल्क ५ हजार रुपैयाँमात्र भुक्तानी गरी निवेदन पेस गर्न सक्नेछन्।













