काठमाडौं । नेपाल राष्ट्र बैंकले साल २०८३ मा बैंक बिदाको सूची सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकले २०८२ मा दसैँ र तिहारसहित कुल ४८ दिन बैंक बिदा रहने सूची सार्वजनिक गरेको छ। यसमा मितिपछि नेपाल सरकारले निर्णय गरेबमोजिम हुने बिदा पनि समावेश गरिएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ वर्ष अर्थात वैशाख १ गते बैंक बन्द रहनेछन्। वैशाख १८ गते विश्व मजदुर दिवस (मे १)मा सार्वजनिक बिदा दिइएको छ।
यसैगरी दसैँमा ७ दिन र तिहारमा ५ दिन बैंक बन्द रहनेछन्। जसअनुसार असोज २५ गते घटस्थापना र असोज ३१ गते फूलपातीदेखि कात्तिक ६ गते द्वादशीसम्म बैंक बन्द रहनेछन्। तिहारमा पनि कात्तिक २२ गते लक्ष्मीपूजादेखि कात्तिक २६ गते भाइटीकासम्म बैंक बिदा दिइएको छ।
यसैगरी प्रत्येक शनिबार बैंक बिदा हुनेछ भने शुक्रबार आधा दिन बिदा हुनेछ। प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा घोषणा गरेमा बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक बिदा हुने र प्रदेश सरकारले आफ्नो प्रदेशभरि लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने राष्ट्र बैंकले जनाएको छ।
यसैबीच राष्ट्र बैंकले कार्यालय समय र बैंकिङ कारोबार समय पनि निर्धारण गरेको छ। २०८२ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि १ः३० बजेसम्म हुनेछ।
त्यस्तै बैंकिङ समय चाहिँ २०८२ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समयम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। प्रत्येक शुक्रबार बिहान १० बजदेखि मध्याह्न १२ः३० बजेसम्म हुनेछ।
bank holidays











