काठमाडौं । होटल फरेष्ट इनको शेयर दोस्रो बजारमा भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज यो होटलको आइपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट दोस्रो बजारमा कारोबार हुने नियम रहेको छ। सोही नियमबमोजिम यो होटलको शेयर भोलिबाट कारोबारमा आउनेछ।
नेप्सेमा होटल फरेष्ट इनको २ करोड कित्ता सूचीकृत भएको छ। जसमा संस्थापको ८० प्रतिशत अर्थात १ करोड ६० लाख कित्ता र सर्वसाधारणको २० प्रतिशत अर्थात ४० कित्ता रहेको छ।
नेप्सेले यो होटललाई ‘एचएफआईएन’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले न्यूनतम ९०.६५ रुपैयाँदेखि अधिकतममा २७१.९५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।
भोलि स्पेसल प्रि–ओपन सेसनमा यदि यो होटलको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।
होटल फरेष्ट इनले गत माघ २२ गतेबाट माघ २६ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। आइपीओ बाँडफाँट भने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलमा फागुन ४ गते भएको थियो।












