काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा बुझेर मात्र हस्ताक्षर गर्न सचेत गराएको छ।
वित्तीय चेतनाका लागि आज एउटा सूचना गर्दै केन्द्रीय बैंकले यस्तो सचेत गराएको हो। ‘जुनसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन्। सर्तहरुको पूर्ण पालना गर्नु दुवै पक्षको कानुनी दायित्व हो’, सूचनामा भनिएको छ, ‘त्यसैले भोलि पछुताउनुभन्दा हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरु नुबझेसम्म प्रश्न सोध्ने गरौँ।’
ग्राहकले वित्तीय सेवा लिनुअघि सर्तहरु पढ्ने र बुझ्ने गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। ‘नबुझिएमा प्रश्न सोधी प्रस्ट हुने र हस्ताक्षर गरिएका कागजको एउटा प्रति आफूले सुरक्षित राख्नुपर्दछ’, सूचनामा भनिएको छ, ‘ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरु बुझ्ने अधिकार हुन्छ भने ग्राहकलाई बुझाउने जिम्मेवारी वित्तीय सेवा प्रदायकलाई हुन्छ।’
यसका साथै नियमानुसार वित्तीय सेवा प्रदायकलाई आवश्यक पर्ने कारोबारसम्बन्धी सूचना र विवरण उपलब्ध गराउनु ग्राहकको दायित्व हुने केन्द्रीय बैंकले जनाएको छ। ‘त्यस्तै ग्राहकले सोधेका प्रश्नको सही र सरल जबाफ दिनु, ग्राहकको कारोबारसम्बन्धी पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवा प्रदायकको दायित्व हो’, सूचनामा भनिएको छ।












