काठमाडौं । चुनावपछि खुलेको शेयर बजारमा तेस्रो सकारात्मक सर्किट लागेर आजको बाँकी समयको कारोबार बन्द भएको छ । आज बजार खुलेको १ घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार बन्द भएको हो। आज नेप्से परिसूचक १६२ दशमलव ९३ अंकले बढेर २८७५ को विन्दुमा पुगेको छ।
रास्वपा नेतृत्वको सरकार बन्ने भएपछि आज बजार खुले लगतै पोजेटिभ सर्किट लागेको थियो । पहिलो सर्किट ब्रेक लागेर खुलेको बजारमा फेरि १ मिनेटमै दोस्रो सर्किट लागेको थियो ।
प्रि ओपन सेसनमा दोहोरो अंकले बढेको बजार नियमित कारोबार खुलेको १ मिनेटमा नै १०८ दशमलव ६० अंक बढेर सकारात्मक सर्किट लागेको थियो । फेरि नेप्से परिसूचक ५ प्रतिशत अर्थात १३५ दशमलव ७२ अंकले बढेर ४० मिनेटका लागि बन्द भएको थियो । अहिले १२ बजेर १ मिनेटमा खुलेको बजार नेप्से परिसूचक ६ प्रतिशत बढेर आजका लागि बन्द भएको हो ।
आज २५२ कम्पनीको शेयर मूल्य बढेको छ भने एक कम्पनीको शेयर मूल्य घटेको छ । आज ११ लाख ४३ हजार कित्ता शेयर किनबेच हुँदा ५५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकको ३ करोड १३ लाखको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड ८९ लाख र एसवाई प्यानलको २ करोड ८६ लाखको शेयर कारोबार भएको हो ।
आज २४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र शिभश्री हाइड्रोका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज एक कम्पनी रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले मात्रै गुमाएका छन् । आज यस कम्पनीको शेयर मूल्य १ दशमलव ४९ प्रतिशतले घटेको छ ।












