काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षमा अन्य दलका तुलनामा ठूलो संख्यामा जित हाल गर्दै गर्दा समानुपातिमा पनि साढे ३ लाख मत कटाएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म ७९ क्षेत्रको अन्तिम नतिजा आएको छ। त्यसमध्ये रास्वपा एक्लैले ६३ क्षेत्रमा विजय हासिल गरेको छ। रास्वपाका उम्मेदवारहरुले अझै ५८ क्षेत्रमा अग्रता लिइरहेका छन्।
दोस्रो धेरै जित निकाल्नेमा नेपाली कांग्रेस रहेको छ। विभिन्न ९ क्षेत्रमा कांग्रेसका उम्मेदवार विजय भएका छन् भने १० क्षेत्रमै अगाडि रहेका छन्।
यसैगरी नेकपा एमालेले ३ क्षेत्रमा जित हासिल गर्दा नेकपाले २ क्षेत्रमा विजयी हासिल गरेको छ। एमालेका उम्मेदवारले ८ स्थानमा अग्रता लिइरहँदा नेकपाका उम्मेदवार ५ क्षेत्रमा अगाडि रहेका छन्।
उता राप्रपा र स्वतन्त्रले १–१ सिट जित्दा श्रम संस्कृति पार्टीका उम्मेदवार ३ क्षेत्रमा अगाडि रहेका छन्।
यसैगरी समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साढे ३ लाख कटाएको छ।निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशका विभिन्न निर्वाचन क्षेत्रमा कुल ६ लाख ६३ हजार ५९५ समानुपातिक मत गणना भएको छ। जसमा रास्वपा एक्लैले ३ लाख ५० हजार ६०१ मत ल्याएको छ। यो भनेको ५२.८३ प्रतिशत हो।
दोस्रो धेरै समानुपाति मत ल्याउनेमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले १६.३९ प्रतिशत अर्थात १ लाख ८ हजार ७९२ मत ल्याएको छ।
यसैगरी नेकपा (एमाले)ले ८८ हजार २६ र नेकपाले २० हजार १४७ मत ल्याएका छन्। हालसम्म कुल मतमा एमालेको हिस्सा १३.२७ प्रतिशत र नेकपाको ६.१७ प्रतिशत रहेको छ।
बाँकी मत अन्य मत राप्रपालगायतका दलहरुले ल्याएका छन्।












