काठमाडौं । नेपाल बीमा प्राधिकरणको न्यायिक सम्पादन कार्य निकै सुस्त देखिएको छ। चालु आर्थिक वर्ष २०८२।८३ को ७ महिना माघसम्मको तथ्यांक हेर्दा अझै करिब ८७ प्रतिशत उजुरीको टुंगो लाग्न बाँकी देखिएको हो।
प्राधिकरणले आफैँले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा १३ प्रतिशत उजुरी टुंगो लागेको छ। माघसम्म प्राधिकरणको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयमा ४८५ वटा उजुरी परेका छन्। जसमा अघिल्लो आर्थिक वर्ष २०८१।८२ बाट सरिआएका ३९४ उजुरी छन्। चालु आर्थिक वर्षको माघसम्म केन्द्रीय कार्यालयमा ६५ र प्रदेश कार्यलयमा २६ वटा गरी थप ९१ वटा उजुरी परेका छन्।
माघसम्म ४६ वटा उजुरीको फैसला र १८ वटाको सहमति गरी जम्मा ६४ वटा उजुरी फर्छ्यौट भएका छन्। जुन कुल संख्याको १३.२० प्रतिशतमात्रै हो। यस हिसाबले अझै ८६.८० प्रतिशत अर्थात ४२१ वटा उजुरी फर्छ्यौट हुन बाँकी छन्।
पछिल्लो समय सञ्चालक समितिले समयमै पूर्ण नपाउँदा र पटक–पटक अध्यक्षको हेरफेरले पनि न्यायिक सम्पादन कार्यले गति लिन नसकेको स्वयं प्राधिकरणका अधिकारीहरु बताउँछन्।












