काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष र सञ्चालकहरुलाई बर्खास्त गर्ने सम्बन्धमा सफाइ पेस गर्न पुनः ताकेता गरेको छ।
राष्ट्र बैंकले गत वर्ष पुस १० गते राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गरेको थियो। साथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ग बमोजिम उक्त बैंकको व्यवस्थापन केन्द्रीय बैंकले नियन्त्रणमा लिएको छ।
राष्ट्र बैंकले आज एक सूचना प्रकाशत गर्दै बैंकका तत्कालीन अध्यक्ष डा ओमप्रकाश मिश्रका साथै सञ्चालकहरु युवराज अधिकारी, उषाकुमारी भण्डारी, टंकबहादुर बस्नेत, निसार अहमद दर्जीलाई बर्खास्तका सम्बन्धमा पुनः सफाइ तथा स्पष्टीकरण पेस गर्न ताकेता गरेको हो। यसअघि गत असोज २८ गते राष्ट्र बैंकले स्पष्टीकरण सोधेकोमा उनीहरुलाई कुनै जबाफ पेस गरेका थिएनन्।
अब १० दिनभित्र आफूहरुलाई बर्खास्त गर्नु नपर्ने कुनै कारण भए आफ्नो सफाइ तथा स्पष्टीकरण पेस गर्न उनीहरुलाई राष्ट्र बैंकले समयसीमा दिएको छ। उनीहरुले आफ्नो सफाइ तथा स्पष्टीकरण काठमाडौंको बालुवाटारस्थित केन्द्रीय बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभाग, नेपालगन्जस्थित राष्ट्र बैंकको कार्यालय वा नेपालगन्जस्थित कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्था समूहमा पेस गर्न सक्नेछन्।












