काठमाडौं । निर्जीवन बीमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४३१.६४ रुपैयाँ कायम गरेको हो। बिहीबार अन्तिम कारोबार मूल्यअनुसार कम्पनीको शेयरभाउ प्रतिकित्ता ४६४.८० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्न फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो फागुन १४ गते (फागुन १५ गते शुक्रबार र फागुन १६ गते शनिबार)सम्म कायम शेयरधनीहरुले यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन्।
नेपाल धितोपत्र बोर्डबाट माघ २७ गते युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको थियो। धितोपत्र बोर्डले यो कम्पनीलाई हाल कायम चुक्तापुँजीको १००ः१० अनुपातमा अर्थात १० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति दिएको छ।
अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई २३ करोड १० लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
हाल कम्पनीको चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।
नियामकीय प्रावधानअनुसार निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्छ। त्यसैले हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी नियामकीय व्यवस्थाअनुसार कायम हुनेछ।












