काठमाडौं । सीडीएससीले तयार पारेको धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका, २०८२ (आइजीन निर्देशिका)को मस्यौदामा आइजीन मिश्रण (मर्जर) र छुट्याउने प्रक्रियाबारे केही व्यवस्था प्रस्ताव गरिएको छ।
यो आइजीन निर्देशिका हाल नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको पर्खाइमा रहेका छन्। धितोपत्र बोर्डको स्वीकृतिपछि मात्रै यो निर्देशिका लागू हुनेछ। यद्यपि, सीडीएससीले निर्देशिकाको मस्यौदाबारे जानकारी दिन सोमबार आयोजना गरेको छलफल कार्यक्रममा डबल आइजीनका विषयमा मिश्रित प्रक्रिया आएको थियो। यद्यपि, छलफलमा धितोपत्र बोर्ड र नेप्सेका प्रतिनिधि नआउँदा आइजीन निर्देशिका लागू हुनेमा आशंका गर्न सकिन्छ।
आइजीन मिश्रण प्रक्रिया
कुनै धितोपत्रलाई फरक–फरक आइजीन प्रदान गरिएमा त्यस्तो धितोपत्रका लागि प्रचलित कानुनबमोजिम फरक आइजीन आवश्यक नपर्ने देखिएमा संगठित संस्थाको अनुरोधमा सीडीएससीले आवश्यकताअनुसार प्रदान गरिएको आइजीन मिश्रण गर्न सक्नेछ।
फरकफरक आइजीन प्रदान गरिएको धितोपत्र एउटै आइजीनमा मिसाउनुपरेमा सम्बन्धित संस्थाले देहायबमोजिमको कागज तथा प्रमाणसहित सीडीएससीमा निवेदन दिनुपर्नेछः
- आइजीनमा मिसाउने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको साधारणसभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि।
- धितोपत्र मिश्रण गराउने सम्बन्धमा राष्ट्रियस्तरको दैनिक पत्रिका तथा अन्य सञ्चारका माध्यमा कम्तीमा दुईपटक सूचना प्रकाशत गरेको प्रमाण।
- धितोपत्र मिश्रण गराउने सम्बन्धमा धितोपत्र बोर्डको सहमतिको प्रमाण।
- धितोपत्र मिश्रण गराउने सम्बन्धमा धितोपत्र बजारलाई जानकारी गराइएको प्रमाण।
- प्रचलित कानुनबमोजिम फरक आइजीन आवश्यक नपर्ने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको स्वघोषणा।
संगठित संस्थाहरु एकआपसमा गाभिई कायम हुने आइजीन यही निर्देशिकाबमोजिम हुने गरी सम्बन्धित धितोपत्र समूहमा राख्नुपर्नेछ।
आइजीन छुट्याउने प्रक्रिया
कुनै धितोपत्रलाई एउटै आइजीन प्रदान गरिएमा त्यस्तो धितोपत्रका लागि प्रचलित कानुनबमोजिम फरक–फरक आइजीन आवश्यक पर्ने देखिएमा सम्बन्धित संगठित संस्थाको अनुरोधमा सीडीएससीले आवश्यकताअनुसार प्रदान गरिएको आइजीन छुट्याई फरक–फरक आजीन प्रदान गर्न सक्नेछ।
यसरी प्रदान गरिएको आइजीन छुट्याउनुपरेमा सम्बन्धित संगठित संस्थाले देहायबमोजिमको कागज तथा प्रमाणसहित सीडीएससीमा निवेदन दिनुपर्नेछः
- आइजीनमा छुट्याउने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको साधारणसभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि।
- धितोपत्र छुट्याउने सम्बन्धमा राष्ट्रियस्तरको दैनिक पत्रिका तथा अन्य सञ्चारका माध्यमा कम्तीमा दुईपटक सूचना प्रकाशत गरेको प्रमाण।
- धितोपत्र छुट्याउने सम्बन्धमा धितोपत्र बोर्डलाई जानकारी दिएको भनी पेस भएको प्रमाण।
- धितोपत्र छुट्याउने सम्बन्धमा धितोपत्र बजारलाई जानकारी गराइएको प्रमाण।
- प्रचलित कानुनबमोजिम फरक–फरक आइजीन आवश्यक पर्ने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको स्वघोषणा।












