काठमाडौं । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले २४ जना घाइतेको उद्धार गरेका छन् ।
आइतबार बिहान करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वीलोकमार्गबाट ग १ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदी किनारमा बजारिएको हो।
सशस्त्र प्रहरी बलका केन्द्रिय प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म घटनास्थलबाट १८ जनाको शव निकालिएको छ। दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।
मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाको स्पष्ट कारण अझै खुल्न सकेको छैन।
अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन्।
विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट आएका गोताखोरसहितको टोलीले नदीमा बेपत्ता हुन सक्ने अन्य यात्रुहरूको खोजी तथा उद्धार कार्य जारी राखेका छन्।












