काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर आज सोमबारदेखि कारोबारमा आउने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पहिलो कारोबारका लागि तोकेको न्यूनतम रेन्जभित्र दुवै कम्पनीको शेयर किनबेच भएपछि नियमित सत्रका लागि कारोबारमा आएको हो। नेप्सेले पहिलो कारोबारका लागि दुवै कम्पनीको प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ र अधिकतममा ३०० रुपैयाँ तोकेको थियो। दुवै कम्पनीको शेयर स्पेसनल प्रिसेसनमा अधिकतम प्रतिकित्ता ३०० रुपैयाँमा किनबेच भएको हो।
रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको साधारण शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएका थिए। कुनै पनि कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। त्यसैले यी दुवैको शेयर (भोलि शनिबार र पर्सि आइतबार महाशिवरात्रीको सार्वजनिक बिदा) आज सोमबारबाट कारोबारमा आएका हुन्।
नेप्सेमा रिलायन्स स्पिनिङ मिल्सको कुल १ करोड ९० लाख कित्ता सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १९ लाख २६ हजार ६०० कित्ता (१०.१४ प्रतिशत) र संस्थापकको १ करोड ७० लाख ७३ हजार ४०० कित्ता (८९.८६ प्रतिशत) रहेको छ।
नेप्सेले रिलायन्स स्पिनिङ मिल्सलाई ‘आरएसएमएल’ कारोबार संकेत प्रदान गरेको छ।
यसैगरी नेप्सेमा सालपा विकास बैंकको कुल ५२ लाख २३ हजार ८८० कित्ता सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १७ लाख २३ हजार ८८० कित्ता (३३ प्रतिशत) र संस्थापकको ३५ लाख कित्ता (६७ प्रतिशत) रहेको छ।
नेप्सेले सालपा विकास बैंकलाई ‘एसएबीबीएल’ कारोबार संकेत प्रदान गरेको छ।












