काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी चुनावी अभियानलाई लक्षित गर्दै आफ्नो मुख्य प्रतिबद्धता पत्र ‘नागरिक करार’ सार्वजनिक गरेको छ। पार्टीले यसलाई साधारण घोषणापत्र मात्र नभई जनता र पार्टीबीचको कानुनी र नैतिक सम्झौताको रूपमा व्याख्या गरेको छ।
पार्टी सभापतिद्वारा हस्ताक्षरित यस करारमा भनिएको छ, “हामीले ५ वर्षभित्र यी सर्तहरू पूरा गर्न नसकेमा हामीलाई अर्को पटकको निर्वाचनमा सजाय दिई असुल उपर गरियोस्।”
करारका मुख्य ५ बुँदा र लक्ष्यहरू:
रास्वपाले आफ्नो नागरिक करारमा मुख्य ५ प्राथमिकताहरू तय गरेको छ:
१. सदाचार र असल शासन: दलीय दोहन र बिचौलियाको अन्त्य गर्ने। सरकारी सेवालाई पूर्ण डिजिटल (अनलाइन) बनाउने र २०४६ सालदेखि कै उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने।
२. मध्यम वर्गीय विस्तार: प्रतिव्यक्ति आय ३००० डलर पुर्याउने र कुल गार्हस्थ उत्पादन (GDP) १०० अर्ब डलर पुर्याउने लक्ष्य। सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य बीमा र आधुनिक बैंकिङ सेवामा पहुँच पुर्याउने।
३. काम, काम, काम (रोजगारी): बाध्यात्मक वैदेशिक पलायन रोक्न ५ वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने। सूचना प्रविधि (IT), पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिने।
४. कनेक्टिभिटी (पूर्वाधार): १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने र १० वटा राष्ट्रिय गौरवका ‘सिग्नेचर’ आयोजनाहरू सम्पन्न गर्ने।
५. प्रवास (गैर-आवासीय नेपाली): विदेशमा रहेका नेपालीलाई अनलाइन मतदानको अधिकार दिने, वंशजको नागरिकताको निरन्तरता र ‘सार्वभौम डायस्पोरा फण्ड’ कार्यान्वयन गर्ने।
“हामी ऋणी, जनता साहु”
रास्वपाले यस दस्तावेजमा आफूलाई ‘ऋणी’ र नागरिकलाई ‘साहु’ को रूपमा प्रस्तुत गरेको छ।
‘नागरिक करार’ सार्वजनिक भएसँगै रास्वपाले अबका दिनमा घर-दैलो अभियानलाई झन् तीव्र बनाउने संकेत दिएको छ।












