काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले भोलि फागुन १ गतेदेखि लागू हुने गरी मार्जिन ट्रेडिङ सुविधासम्बन्धी निर्देशिका जारी गरिसकेको छ। तर, शेयर लगानीकर्ताले पनि मार्जिन ट्रेडिङ सुविधा उपयोग गर्न भने केही समय लाग्ने देखिन्छ।
धितोपत्र बोर्डले निर्देशिका तयार पारेपछि अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोहीबमोजिम कार्यविधि बनाउनुपर्ने हुन्छ। हुन त नेप्सेले केही वर्षअघि नै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि बनाइसकेको छ। तर, उक्त कार्यविधिका केही प्रावधानलाई लिएर धेरैजसो शेयर ब्रोकरले ग्राहकलाई मार्जिन कारोबार सुविधा प्रदान गरेका थिएनन्।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले पहिलेकै कार्यविधिमा केही थपघट गरेपछि कार्यविधि तयार हुने बताए। ‘कार्यविधि संशोधन गर्ने तयारी भइरहेको छ’, उनले भने, ‘संशोधन गर्न त्यति समय नलाग्ला। तर, नेप्से सञ्चालक समितिको बैठकमा पेस गरेर स्वीकृत गर्नुपर्छ।’
कार्यविधि स्वीकृत भएपछि ब्रोकरले पनि सोहीबमोजिम तयार गर्नुपर्ने प्रवक्ता पराजुली बताउँछन्। ‘निर्देशिकामा ब्रोकरले मार्जिन कारोबार सुविधा प्रदान गर्न के–के गर्नुपर्छ भनेर प्रस्टै उल्लेख छ’, उनले भने, ‘त्यसैले ब्रोकरहरुले ती काम गरेपछि बल्ल लगानीकर्ताले यो सुविधा उपयोग गर्न पाउनेछन्। यसका लागि केही समय त लागिहाल्छ नि।’
पराजुलीका अनुसार केही ब्रोकरले भने पुरानै कार्यविधिअनुसार पहिलादेखि मार्जिन कारोबार सुविधा आफ्ना ग्राहकलाई दिइरहेका छन्।
स्टक ब्रोकर्स एसोसिएन अफ नेपालका महासचिव एवं इम्पेरियल सेक्युरिटिज कम्पनीका अध्यक्ष भक्तिराम घिमिरेले नेप्सेले पहिलेको कार्यविधि संशोधन गरेसँगै ब्रोकरहरुले पनि आफ्नो कार्यविधि बनाएर फागुन महिनाभित्रैबाट लगानी मार्जिन कारोबार सुविधा प्रदान गर्न सकिने बताए। ‘ब्रोकरहरु मार्जिन कारोबार सुविधा दिन तयार छन्’, उनले भने, ‘यसले विशेषगरी साना लगानीकर्तालाई फाइदा हुन्छ। साना रकमका लागि पनि बैंक धाइराख्नुपर्दैन।’
मार्जिन कारोबार सुविधा सबैले ब्रोकर सुरु गरेमा साना लगानीकर्ता लाभान्वित हुने र समग्र पुँजीबजारमा सुधार आउने घिमिरेको भनाइ छ।












