काठमाडौं । वाणिज्य बैंकहरु भोलि फागुन १ गतेदेखि लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्। बैंकहरुले प्रकाशन गरेको सूचनाअनुसार फागुनका लागि २० वटा वाणिज्य बैंकमध्ये ९ वटाले मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ११ वटा स्थिर राखेका छन्।
ब्याजदर घटाउनेमा सिद्धार्थ, एभरेष्ट, नेपाल एसबीआई, प्राइम र कृषि विकास बैंक छन्। फागुनका लागि यी बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएर ४.२५ प्रतिशत कायम गरेका छन्। यसअघि माघमा सिद्धार्थले ४.५५ प्रतिशत ब्याज दिएकोमा बाँकी ४ वटा ४.४ प्रतिशत ब्याज दिएका थिए।
यसैगरी स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेस्टमेन्ट मेगा, सानिमा र ग्लोबल आइएमईले ब्याजदर घटाएका छन्। अब फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर स्ट्यान्डर्ड चार्टर्डले ४.२५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमाले ४.५ प्रतिशत र ग्लोबल आइएमईले ४.७५ प्रतिशत निर्धारण गरेका छन्। माघमा व्क्ति मुद्दति निक्षेपक लागि अधिकतम ब्याज स्ट्यान्डर्ड चार्टर्डले ४.३६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ५ प्रतिशत, सानिमाले ४.५५ प्रतिशत र ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत दिएका थिए।
माघकै ब्याजदरलाई फागुनमा निरन्तरता दिने बैंकहरुमा कुमारी, सिजिन्स, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, प्रभु, एनएमबि, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन्। फागुनमा पनि नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.१ प्रतिशत, कुमारीले ४.४३ प्रतिशत, सिटिजन र लक्ष्मी सनराइजले ४.५ प्रतिशत तथा बाँकी बैंकले ५ प्रतिशत ब्याजदर नै कायम गरेका छन्।












