काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्ममा स्वीकृत गरेको बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा निर्जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी अनुपात सार्वजनिक गरेको छ।
प्राधिकरणले बीमा प्रतिविम्बमार्फत बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएका ८ वटा निर्जीवन बीमकको सोल्भेन्सी अनुपात सार्वजनिक गरेको हो। समीक्षा अवधिसम्म ती निर्जीवन बीमकको औसत सोल्भेन्सी अनुपात ४.३७ रहेको छ। जुन प्राधिकरणले निर्जीवन बीमकका लागि तय गरेको सोल्भेन्सी अनुपातको तुलनामा सवा ३ गुणा बढी हो। प्राधिकरणले निर्जीवन बीमकका लागि सोल्भेन्सी अनुपात १.३ कायम गरेको छ।
प्राधिकरण मूल्यांकन स्वीकृत गरिएका निर्जीवन बीमकको सोल्भेन्सी अनुपात न्यूनतम ३.३१ देखि अधिकतम ५.०६ सम्म रहेको छ।
प्राधिकरणका अनुसार बीमांकी मूल्यांकनका आधारमा नेको इन्स्योरेन्स र आईजीआई इन्स्योरेन्सको सोल्भेन्सी अनुपात सर्वाधिक ५.०६ रहेको छ। यसैगरी दोस्रो अधिक शिखर इन्स्योरेन्सको ४.७४ रहेको छ। सबैभन्दा न्यून सोल्भेन्सी अनुपात ३.३१ सगरमाथा लुम्बिनी इन्स्योरेन्सको रहेको छ।
प्राधिकरणका अनुसार बीमांकीय प्रतिवेदन स्वीकृत भएका सबै निर्जीवन बीमकहरुको सोल्भेन्सी अनुपात न्यूनतम नियामकीय मापदण्डभन्दा माथि रहेको छ। यसको अर्थ ती बीमक वित्तीय दायित्व पूरा गर्न पूर्ण सक्षम छन्।
सोल्भेन्सी अनुपात १ भन्दा कम हुने बीमक वित्तीय रुपमा अस्वस्थ्य मानिन्छ र यस्तो बीमकमाथि नियामकीय निगरानी कसिलो हुँदै जान्छ। १ भन्दा कम हुनुको अर्थ बीमित तथा अन्य साहुप्रतिको वित्तीय दायित्व पूरा गर्नका लागि बीमकसँग पर्याप्त सम्पत्ति उपलब्ध छैन। सोल्भेन्सी अनुपात १.३ हुनुको अर्थ १ रुपैयाँबराबरको दायित्व पूरा गर्न बीमकसँग रु. १.३० बराबरको पुँजी सम्पत्ति उपलब्ध छ।













