काठमाडौं। लामो समयदेखि बैंक तथा वित्तीय संस्थाका लागि चुनौती बनेको गैरबैंकिङ सम्पत्तिको बिक्री पछिल्लो केही महिनायता सुधारको संकेत देखिन थालेको छ। न्यून ब्याजदर, सहज कर्जा सुविधा र रिटेल सेग्मेन्टमा ग्राहकको सक्रियताले सानो भोल्युमका गैरबैंकिङ सम्पत्ति बिक्री हुन थालेका छन्। तर, यो सुधार कति दिगो हुन्छ भन्ने प्रश्न भने अझै रहेको बैंकरहरु बताउँछन्।
हाल गैरबैंकिङ सम्पत्तिको माग मुख्यतः व्यक्तिगत प्रयोजनमा सीमित देखिएको छ। घर बनाउन मिल्ने ४–५ आना जस्ता साना टुक्रा जग्गा, साना घर तथा आवासीय प्रोपर्टीप्रति चासो बढेको बैंकरहरु बताउँछन्। विशेषगरी काठमाडौं उपत्यकामा १ करोड रुपैयाँसम्मका प्रोपर्टी तथा उपत्यका बाहिर ४०–५० लाख रुपैयाँसम्मका सम्पत्तिको कारोबार बढेको छ।
ब्याजदर घटेपछि सानो भोल्युमका कर्जा लिन ग्राहक सहज महसुस गर्न थालेका छन्। ठूला लगानीमा जोखिम लिन नचाहने ग्राहकले सुरक्षित रिटेल प्रोपर्टीतर्फ ध्यान दिएको देखिन्छ। यही कारण स–सानो भोल्युमका गैरबैंकिङ सम्पत्तिको बिक्री बढेको हो।
यसको असर बैंकहरुको तथ्यांकमा पनि देखिएको छ। वाणिज्य बैंकहरुमा गैर बैंकिङ सम्पत्ति असोजमा ४३ अर्ब २४ करोड रुपैयाँ रहेकामा मंसिरमा घटेर ४३ अर्ब ५ करोड रुपैयाँमा झरेको छ। बिक्री बढे पनि नयाँ गैरबैंकिङ सम्पत्ति थपिने क्रम नरोकिँदा समग्र आकार भने उल्लेख्य रुपमा घट्न सकेको छैन।
बैंकरहरुका अनुसार सुधार देखिए पनि कमर्सियल र ठूलो भोल्युमका गैरबैंकिङ सम्पत्तिमा भने माग छैन। होटल, व्यापारिक भवन, ठूला जग्गा तथा व्यावसायिक परियोजनाका प्रोपर्टीमा ग्राहकले चासो दिएका छैनन्। यसले समग्र बजार अझै सुस्त रहेको संकेत गर्छ।
अर्थतन्त्र पूर्ण रुपमा चलायमान नभएसम्म गैरबैंकिङ सम्पत्तिको बिक्री दिगो हुनेमा शंका देखिन्छ। व्यापार–व्यवसाय विस्तार नभएसम्म र लगानीकर्तामा विश्वास नआएसम्म ठूला प्रोपर्टीको माग सिर्जना हुन कठिन छ।
यद्यपि, सानो भोल्युमका गैरबैंकिङ सम्पत्तिको फर्छयोटले बैंकहरुलाई तत्काल राहात भने दिएको छ। यस्ता सम्पत्ति बिक्री हुँदा बैंकको नाफा सुधार हुन्छ, रिटेल पोर्टफोलियोको कोष नाफामा फर्किन्छ र पुँजीकोष बलियो बन्छ। यसले बैंकहरुको कर्जा लगानी क्षमता विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समग्रमा गैरबैंकिङ सम्पत्तिको बिक्रीमा देखिएको सुधार सकारात्मक संकेत हो। तर, यो सुधार दिगो बनाउन अर्थतन्त्रमा समग्र माग बढ्नु, लगानी वातावरण सुधारिनु र व्यावसायिक क्षेत्रमा आत्मविश्वास फर्किनु आवश्यक देखिन्छ। ती आधार तयार नभएसम्म गैरबैंकिङ सम्पत्तिको चुनौती पूर्ण रुपमा टरेको भन्न भने अझै हतार हुनेछ।












