काठमाडौं । इन्डोनेसियाली नियामक वित्तीय सेवा प्राधिकरण (ओजेके)ले देशका विभिन्न भागमा जीवन बीमा दाबी भुक्तानीमा व्यापक धोखाधडी भएको उजागर गरेको छ।
ओजेकेको बीमा र समर्थन सेवा पर्यवेक्षण विभागका प्रमुख सुमारजोनोले हालै स्थानीय अनलाइन सञ्चारमाध्यमसँग बीमा ठगीका घटनाहरु संगठित रुपमा भइरहेको आशंका गरिएको बताएका हुन्। ‘हामीले जानकारीहरु प्राप्त गरिरहेका छौँ। ठूलो संख्यामा ठगीका घटनाहरु संगठित पक्षहरुद्वारा गरिएको पाइएको छ’, उनले भने, ‘यो शंका दाबी कागजातहरुमा आधारित छ। जुन लगभग समान छन्। समान दाबी विवरणहरु छन् र निश्चित क्षेत्रहरुमा गरिएका छन्।’
इन्डोनेसियाली नियामकले यसलाई गम्भीर समस्याका रुपमा लिएको छ। किनकि यसले बीमा कम्पनीहरुलाई हानि मात्र नगर्ने भएर सार्वजनिक विश्वासलाई पनि खतरामा पार्छ र सम्पूर्ण जीवन बीमा उद्योगको स्थिरतालाई कमजोर बनाउँछ। ‘ओजेकेले जीवन बीमा उद्योगमा ठगीका विभिन्न रुपहरुमा भएको वृद्धिलाई गम्भीरतापूर्वक हेर्छ। चाहे कर्मचारी, एजेन्ट, उपभोक्ता र बाह्य पक्षहरुद्वारा गरिएको किन होस्’, सुमारजोनोले भने।
हालैका वर्षहरुमा ओजेकेले जीवन बीमा दाबीसँग सम्बन्धित विभिन्न प्रकारका अपराधहरु पत्ता लगाएको छ। यसमा एजेन्टहरुद्वारा प्रिमियम हिनामिना र दाबी र मृत्यु कागजातहरुको जालसाजीदेखि पूर्वनियोजित हत्या जस्ता गम्भीर घटनाहरु सम्मका छन्।
यद्यपि, प्रत्येक वर्ष पत्ता लागेका धोखाधडी जीवन बीमा दाबीहरुको संख्याका बारेमा कुनै छुट्टै तथ्यांक उपलब्ध छैन। ओजेकेले परिस्थितिको निगरानी जारी राखेको छ।
ओजेकेले धेरै बमितलाई पोलिसी सर्तहरु, दाबी प्रक्रिया र उपभोक्ता अधिकार र जिम्मेवारीहरुबारे पूर्ण रूपमा थाहा नभएको जनाएको छ। जसले समस्यालाई बढाउँछ। केही बीमा कम्पनीहरुमा कमजोर शासन र आन्तरिक नियन्त्रणहरुका साथै उचित सुरक्षा प्रणालीहरुद्वारा समर्थित नभएको प्रविधिको प्रयोग पनि कारकहरु हुन्। यसका साथै डिजिटल ठगीको बढ्दो प्रवृत्तिले ठगी गर्नेहरुले प्राविधिक कमजोरीहरुको फाइदा उठाइरहेका छन् भन्ने संकेत गर्छ।
ओजेकेले सन् २०२४ मा ‘वित्तीय सेवा संस्थाहरुका लागि धोखाधडी विरोधी रणनीतिहरुको कार्यान्वयन’ नियमन जारी गर्नेसहित आफ्नो नियामक र पर्यवेक्षकीय ढाँचालाई बलियो बनाएको छ। यस नियमनअन्तर्गत जीवन बीमा कम्पनीहरुसँग व्यापक धोखाधडी विरोधी रणनीति हुनुपर्छ, दावीहरुलाई कडाइका साथ प्रमाणित गर्नुपर्छ र ओजेकेलाई ठगीको कुनै पनि संकेत रिपोर्ट गर्नुपर्छ। –एसिया इन्स्योरेन्स रिभ्यु












