काठमाडौं । नेपालको कार्यक्षेत्रमा अहिले एउटा शान्त तर शक्तिशाली रुपान्तरण भइरहेको छ। आजका कुनै पनि साझा कार्यस्थल, कफी शप वा सिर्जनशील स्टुडियोहरुमा छिर्नुभयो भने तपाइँले ऊर्जावान्, एकल र सहरी युवा पेसेवरको एक उदाउँदो पुस्ता भेट्नुहुनेछ। यी युवा डिजिटल रुपमा दक्ष छन्, आर्थिक रुपमा स्वतन्त्र छन् र उच्च आकांक्षा बोकेका छन्।
नेपालको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी हिस्सा युवाको रहेको छ। यो ठूलो युवा जमातले अहिले परम्परागत करिअरका पाटाहलाई परिवर्तन गर्दै आफ्नै स्टार्टअप सुरु गर्ने, अतिरिक्त काम गर्ने र सफलताको नयाँ परिभाषा लेखिरहेका छन्।
वित्तीय क्षेत्रलाई नजिकबाट नियाल्दा यो देख्न सकिन्छ कि यो पुस्ताले पहिलेका पुस्ताको तुलनामा छिटो कमाउन, स्मार्ट तरिकाले खर्च गर्न र सानै उमेरमा लगानी गर्न थालेका छन्। उनीहरु गुणस्तरीय जीवन, यात्रा र स्वास्थ्यप्रति सचेत छन्।
बीमाप्रतिको भ्रम र यथार्थ
यति हुँदाहुँदै पनि धेरैको वित्तीय योजनामा जीवन बीमाले अझै पनि पाउनुपर्ने प्राथमिकता पाएको देखिँदैन। प्रायः युवाबाट सुनिन्छ, ‘म त तन्दुरुस्त छु, अहिलेसम्म मेरो कोही आश्रित छैनन्, मलाई किन चाहियो बीमा ?’
यो प्रतिक्रियाले हाम्रो समाजमा वित्तीय सुरक्षाप्रतिको बुझाइमा रहेको खाडललाई दर्शाउँछ। वास्तविकता के हो भने जीवन सधैँ सोचेको जस्तो सोझो रेखामा हिँड्दैन र समयमै गरिएको तयारीले ठूलो फरक पार्छ।
हालैका केही अध्ययनले सहरी क्षेत्रका ‘मिलिनियल्स’ र ‘जेन–जी’मा बीमाप्रति चेतना बढेको देखाए पनि वास्तवमै बीमा गर्नेहरुको संख्या अझै न्यून छ। धेरैले यसलाई विवाहपछि वा बच्चा भएपछि गर्ने कामका रुपमा थाती राख्छन्। तर, स्वास्थ्य समस्या वा आकस्मिक दुर्घटनाले कसैलाई सोधेर आउँदैन। यस्तो बेला ठोस वित्तीय सुरक्षा नहुँदा वर्षौं लगाएर बनाएका योजनाहरु एकै क्षणमा भताभुंग हुन सक्छन्।
एउटा उदाहरण
कल्पना गर्नुहोस्, काठमाडौंको एउटा स्टार्टअप कार्यक्रममा तपाइँको भेट एक युवा उद्यमीसँग हुन्छ। उनी आफ्नै डिजाइन फर्म चलाइरहेका छन् र एउटा उत्कृष्ट सहरी जीवन बिताइरहेका छन्। जब उनलाई जीवन बीमाका बारेमा सोधिन्छ तब उनी मुस्कुराउँदै भन्छन्, ‘त्यो त मेरा बुवा–आमाका लागि हो, मेरा लागि होइन।’
तर, कुराकानी गर्दै जाँदा थाहा हुन्छ कि उनले आफ्नो व्यवसाय र घरका लागि ऋण लिएका छन्। जसमा बुबा–आमालाई पनि साक्षी राखेका छन्। उनले धितोको बीमा गराएका छन् तर त्यो कर्जा खाम्ने गरी आफ्नै भने जीवन बीमा गराएका छैनन् । यहाँ आफ्ना प्रियजनहरुलाई सुखी राख्न मेहनत गरिरहेका उनले भोलि केही अप्रिय घटना भइहालेमा उनीहरुलाई आर्थिक भारबाट जोगाउने मुख्य औजार (बीमा)लाई नै बिर्सिएका छन्।
बीमा केवल सुरक्षामात्र होइन
आजको समयमा जीवन बीमाका योजनाहरु निकै लचिलो र डिजिटल रुपमा सहजै उपलब्ध छन्। चाहे त्यो सस्तो बीमाशुल्कमा खरिद गर्न सकिने ‘म्यादी बीमा’ होस् वा लगानी र बचतसमेत हुने योजनाहरु। यो सबै वृद्धवृद्धा वा विवाहितहरुका लागिमात्र होइनन्। यो त भविष्य निर्माण गरिरहेका हरेक व्यक्तिका लागि एउटा ‘वित्तीय औजार’ हो।
आत्मनिर्भरताको एउटा कदम
जीवन बीमा किन्नु भनेको केवल एउटा कागजी प्रक्रिया पूरा गर्नुमात्र नभएर यो एक जिम्मेवारीको घोषणा पनि हो। परिवर्तनशील करिअर र बदलिँदो जीवनशैलीमा चाँडै योजना बनाउनु भनेको आफूलाई सशक्त बनाउनु हो।
नेपाली युवाहरुले आज विश्वमा आफ्नो उपस्थिति बलियो बनाउँदै छन्। तर, यो साहस र क्षमतासँगै पूर्वतयारी पनि हुन जरुरी छ। जीवन बीमालाई पछिका लागि साँचेर राख्ने वस्तु नभई स्वास्थ्य बीमा वा बचतजस्तै आधारभूत आवश्यकताका रुपमा हेरिनुपर्छ।












