काठमाडौं। नेपालमा शंकास्पद कारोबार तथा गतिविधि झनै बढेको छ। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।८२ को प्रतिवेदनबाट यस्तो देखिएको हो। ‘गत आर्थिक वर्षमा गोएएमएल प्रणालीमार्पmत वित्तीय सूचना संकलन उल्लेख्य रुपमा वृद्धि भएको छ।
अघिल्लो वर्ष २०८०।८१ मा गोएएमएलमा आबद्ध सूचक संस्थाको संख्या १ हजार ६३९ रहेकोमा २०८१।८२ मा ३,४९७ पुगेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘सोही अवधिमा इकाइले ९ हजार ५६५ वटा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त गरेको छ। यो आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो।’
प्राप्त प्रतिवेदनको विश्लेषणसमेत करिब ४० प्रतिशतले वृद्धि भएको इकाइले जनाएको छ। विश्लेषणपश्चात् इकाइले ९४५ वटा त्यस्ता शंकास्पद कारोबार तथा गतिविधिमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायमा सम्प्रेषण गरेको छ। यसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको विश्वास गरिएको इकाइले जनाएको छ।
प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा हुने वित्तीय लगानी निवारणका सम्बन्धमा इकाइले गरेका नीतिगत र सञ्चालनगत कार्य तथा कार्यक्रमको विवरण, इकाइमा प्राप्त हुने प्रतिवेदन र तिनको विश्लेषण एवम् प्रेषित तथ्यांक, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी विवरणसँगै आगामी रणनीतिक प्राथमिकतालाई प्रस्तुत गरेको छ। इकाइले गत आर्थिक वर्षमा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्ने, गोएएमएल अपरेसनल गाइलाइन्स जारी तथा अद्यावधिक गर्ने, शंकास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्नेलगायतका कार्य सम्पन्न गरेको छ।
यसका साथै इकाइले वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरेको छ। गत आर्थिक वर्षमा इकाइले विदेशी वित्तीय जानकारी इकाइसँग ६४ वटा सूचना आदानप्रदान गर्दै सीमापार वित्तीय कारोबारबाट हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी र नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्ध अन्तर्राष्ट्रियस्तरमा हुने सहकार्यलाई थप मजबुत र विस्तार गरेको छ।
यसका साथै एपीजीले सन् २०२३ मा गरेको पारस्परिक मूल्यांकनपश्चात् नेपाल ग्रे–लिस्ट सूचीमा परेपछि इकाइमार्पmत भएका समन्वयात्मक कार्यलाई समेत प्रतिवेदनमा समेटिएको छ। वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरुपका सुधारका प्रयासलाई इकाइको आगामी प्राथमिकताका क्षेत्रका रुपमा प्रस्तुत गरेको छ। इकाइको आगामी कार्यदिशा वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिवेदनमा उल्लेख छ।












