काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको सातौँ वार्षिक प्रतिवेदनअनुसार संस्थाले शैक्षिक गतिविधि र राजस्व परिचालन दुवैमा सुधार दर्ज गरेको छ।
गत आर्थिक वर्ष २०८१।८२ मा यो संस्थाले कुल ६३ वटा विभिन्न तालिम सञ्चालन गरेको थियो। जसमा १ हजार ५७८ जना सहभागीले प्रशिक्षण लिएका थिए। अघिल्लो वर्ष २०८०।८१ मा ४८ वटा तालिममा १ हजार ५५४ जना सहभागी भएका थिए। समग्रमा तालिम संख्यामा भएको ३१ प्रतिशतको वृद्धिसँगै संस्थाले आफ्नो व्यावसायिक दायरा फराकिलो बनाउँदै लगेको प्रतिवेदनले देखाउँछ।
चालु आर्थिक वर्षमा तालिम संख्या खुम्चिएको प्रतिवेदनमा उल्लेख छ। विशेषगरी राजनीतिक अस्थिरता, आन्दोलन र बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण तालिम गतिविधिमा संकुचन आएको इन्स्टिच्युटको दाबी छ।
संस्थाले राष्ट्र संघ विकास नियोग (यूएनडीपी)सँगको सहकार्यमा समावेशी बीमासम्बन्धी ४ वटा मोड्युल सफलतापूर्वक सम्पन्न गरेको छ। साथै, बीमा सर्भेयरको आधारभूत तालिम र सम्पत्ति शुद्धीकरणजस्ता प्रमाणीकरण तालिमसमेत सञ्चालनमा ल्याएको छ।
समुद्री बीमासम्बन्धी व्यवहारिक तालिम आयोजना गरिनुका साथै काठमाडौंबाहिर सातै प्रदेशमा तालिम कार्यक्रम विस्तार गरिएको छ।
आर्थिक मन्दी र नीतिगत अस्थिरताका बाबजुद संस्थाले आफ्नो राजस्व बढाउन सफल भएको छ। आर्थिक वर्ष २०८१।८२ मा संस्थाको कुल आम्दानी रु. ३ करोड ९८ लाख १४ हजार पुगेको छ। जुन अघिल्लो वर्षको रु. ३ करोड ५९ लाख ४६ हजारको तुलनामा करिब १०.७५ ले बढी हो।
कुल राजस्वमध्ये तालिम शुल्कबाट मात्र रु. २ करोड ८३ लाख ८९ हजार संकलन भएको छ। यो रकम अघिल्लो वर्षको तालिम राजस्व रु १ करोड ७० लाख ९५ हजारको तुलनामा उल्लेख्य वृद्धि हो।
संस्थाले यस वर्ष रु. २७ लाख ९ हजार खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको नाफा रु. ३९ लाख ९९ हजार को तुलनामा यस वर्ष केही गिरावट देखिएको छ। व्यवस्थापन र प्रत्यक्ष तालिम खर्चमा भएको वृद्धि मानिएको छ।
चुक्तापुँजी २० करोड रुपैयाँ रहेको यो संस्थाको विभिन्न बैंकको मुद्दति निक्षेपमा रु. १९ करोड ५८ लाख लगानी रहेको छ।












