काठमाडौं ।पाठ्यक्रम विकास केन्द्रले २०८४ सालदेखि विद्यालय स्तरको पाठ्यक्रममा बीमा शिक्षा समावेश गर्ने ऐतिहासिक तयारी गरिरहँदा, यसको सफल कार्यान्वयनको कडी जीवन बीमा कम्पनीहरू बनेका छन् ।
नेपाल बीमा प्राधिकरणले गत भदाैमा परिपत्रमार्फत् संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बीमा जागरण कार्यक्रम सञ्चालन गर्दा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। नियामक निकायको निर्देशनलाई पालना गर्नु मात्र नभएर भविष्यको कर्णधार बालबालिकालाई बीमाको महत्व बुझाउन बीमकहरूले अब व्यापार भन्दा माथि उठेर सामाजिक अभियानको रूपमा काम गर्नुपर्ने चुनाैती छ ।
अहिले अधिकांश जीवन बीमा कम्पनीहरूले विद्यालयस्तरमा पुगेर सचेतना कार्यक्रमहरू गरिरहेका छन् । ती धेरैजसो औपचारिक भाषण वा बीमा योजनाको प्रचार केन्द्रित हुने गरेका छन् । विद्यार्थीलाई बीमाका फाइदाबारे प्रचारात्मक सामाग्री वितरण गर्नु, निबन्ध र वक्तृत्वकला गराई पुरस्कार वितरण गर्ने, अभिभावक भेलामा बाल शिक्षा बीमा जस्ता योजनाहरूको प्रचार गरिरहेको पाइन्छ ।
भावी पुस्तालाई बीमाप्रति आकर्षित गर्न र यसलाई जीवनशैलीकै रूपमा अँगाल्न प्रेरित गर्न बीमकहरूले आफ्नो शैलीमा परिवर्तन ल्याउनु जरुरी छ । खेल र कथाको माध्यमबाट बीमालाई जटिल आर्थिक विषयु भन्दा पनि जोखिमबाट बचाउने सुरक्षा छाताको रूपमा बुझाउन खेलहरू, चित्रकथा, र कार्टुनहरू प्रयोग अपनाउनुपर्छ।
कक्षामा काल्पनिक जोखिमहरू सिर्जना गरी बीमा भएको व्यक्ति र नभएको व्यक्तिले कसरी समस्या समाधान गर्छन् भन्ने प्रदर्शनी देखाउनसके बालबालिकाले छिटो र अविष्मरणीय हुने गरी बुझ्न मद्दत पुग्छ ।
आजका बालबालिका प्रविधिमैत्री छन् । बीमा सम्बन्धी मोबाइल गेम वा एनिमेटेड भिडियोहरू मार्फत उनीहरूलाई बुझाउन सजिलो हुन्छ । नेपालमा बाल क्लबहरूले सरसफाई, बाल अधिकार, बाल शिक्षा, बालविवाह विरुद्ध, खोप स्वास्थ्य सचेतनामा ठूलो क्रान्ति ल्याएका छन् । यही संरचनालाई बीमा सचेतनामा पनि उपयोग गर्न सकिन्छ ।
जब एउटा बच्चाले घरमा पुगेर बाबा, आज मैले स्कुलमा बीमाले दुःखको बेला कसरी पैसा दिन्छ भनेर सिकेँ भन्छ, तब त्यो कुराले अभिभावकको मनमा कुनै पनि विज्ञापनले भन्दा बढी प्रभाव पार्छ । उनीहरूले ध्यानपूर्वक सुन्नुपर्ने बाध्यता हुन्छ। बच्चाले भावनात्मकरूपमा प्रस्तुत गर्दा अभिभावकहरूलाइ बीमा वास्तवमै जरूरी रहेछ भन्ने बुझाउन पनि सहज हुन्छ।
बाल क्लबका सदस्यहरूलाई बीमा दूतको रूपमा तालिम दिँदा उनीहरूले आफ्नो टोल र परिवारमा बीमाको कुरा सहजै पुर्याउन सक्छन् । बाल क्लबहरूले गर्ने नाटक वा सडक नाटकमा बीमाको विषय जोड्दा समुदायका वयस्कहरूमा पनि यसको सकारात्मक सन्देश जान्छ ।
आजका यी सचेत बालबालिका भोलि वयस्क भएपछि उनीहरूले कसैको दबाबमा नभई आफ्नो आवश्यकता बुझेर स्वतः बीमा गर्नेछन् ।
त्यसैले अबको समय जीवन बीमा कम्पनीहरूले विद्यालयलाई भावी पिढीमाझ व्यापार प्रवर्द्धन गर्ने ठाउँको रूपमा मात्र नहेरी वित्तीय साक्षरताको जग बसाल्ने केन्द्रको रूपमा लिनुपर्छ ।












