काठमाडौं। आइपीओ ल्याउने प्रस्तावसहित प्रिमियर डिस्टिलरीले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो माघ ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापाथलीस्थित एसजी टावरमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।
सभाले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्दै हाललाई प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
आइपीओ निष्कासनपछि फेरि नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले सञ्चालक समितिको पारिश्रमिक तथा भत्ता निर्धाण गर्ने र सोहीबमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष२०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षका लागि सञ्चालक समितिको निर्णयहरु स्वीकृत गर्नेछ।












