काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पछिल्लो समय लगातार एकवर्षे ऋणपत्र जारी गर्दै आएको छ।
नयाँ कर्जा प्रवाह सुस्त देखिनु अनि निक्षेप थुप्रिँदै जानुले राष्ट्र बैंकलाई बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न निकै सकस परेको छ। राष्ट्र बैंकले यसअघि अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा खिच्दै आएको छ। जुन अल्पकालीन उपकरण हो।
अहिले भने केन्द्रीय बैंकले एकवर्षे ऋणपत्र जारी गर्दै बैंकहरुबाट पैसा खिचिरहेको छ। यो दीर्घकालीन उपकरण हो।
राष्ट्र बैंकले हालसम्म ५ वटा ऋणपत्र जारी गरिसकेको छ। आज पनि ऋणपत्रमार्फत बैंकिङ प्रणालीबाट पैसा खिच्दैछ।
हालसम्म ५ वटा ऋणपत्रमार्फत केन्द्रीय बैंकले बैंकहरुबाट १ खर्ब २० अर्ब रुपैयाँ खिचिसकेको छ। आज फेरि १० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्दैछ।
यी ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत हुन्छ। हालसम्मको ब्याजदर ३ प्रतिशतभन्दा कम नै रहेको छ। यसको अर्थ बैंक तथा वित्तीय संस्थाहरु कम ब्याजदरमै केन्द्रीय बैंकले जारी गर्ने ऋणपत्रमा लगानी गर्न बाध्य भइरहेका छन्।
मौद्रिक व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक डिल्लीराम पोखरेलले अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले प्रयोग गर्ने उपकरणमध्ये एउटा ऋणपत्र पनि रहेको बताए। ‘यसअघि २०७२ सालतिर पनि तरलता व्यवस्थापन गर्न यही उपकरणको प्रयोग भएको थियो’, उनले भने, ‘अहिले पनि त्यही उपकरणमार्फत तरलता व्यवस्थापन गर्ने काम भइरहेको छ। यो दीर्घकालीन औजार हो।’
पोखरेलका अनुसार राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयबमोजिम नै ऋणपत्र जारी भएको हो। ‘यो ऋणपत्रमार्फत आजसहित १३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने काम हुनेछ’, उनले भने, ‘हाललाई २०० अर्ब रुपैयाँसम्म खिच्ने कुरा छ। तर, आवश्यकताबमोजिम यसको आकार बढ्न सक्छ।’












