काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको कोशी प्रदेशमा स्टार्टअप उद्यमसम्बन्धी अनुसन्धान प्रतिवेदनले यो प्रदेशमा नवप्रवर्तनसम्बन्धी उद्यम विस्तारोन्मुख देखिएको छ।
बैंकको विराटनगर कार्यालयले जारी गरेको आर्थिक वर्ष २०८१।८२ को अध्ययनमा आधारित प्रतिवेदनअनुसार प्रदेशका विभिन्न जिल्लामा कृषि, उत्पादनमूलक, सेवा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा स्टार्टअप उद्यमको संख्या बढ्दो क्रममा छ।
राष्ट्र बैंकले अध्ययनका लागि कोशी प्रदेशका १४ जिल्लामध्ये १० जिल्लामा सञ्चालनमा रहेका १५० वटा स्टार्टअप उद्यमलाई समेटेको थियो। अध्ययनले कृषि तथा वनजन्य क्षेत्रमा सबैभन्दा बढी स्टार्ट अप सञ्चालनमा रहेको देखाएको छ । त्यसपछि उत्पादनमूलक, सेवा, पर्यटन र सूचना प्रविधि क्षेत्र क्रमशः अगाडि रहेका छन्।
स्टार्टअप उद्यमको वृद्धि सन्तोषजनक देखिए पनि व्यवसाय सञ्चालनमा विभिन्न समस्या कायमै रहेका छन्। मुख्य रुपमा पुँजीको अभाव, दक्ष जनशक्तिको कमी, प्रविधिको सीमित पहुँच, बजार प्रतिस्पर्धा तथा जटिल नियामक प्रक्रिया स्टार्टअप उद्यमीले भोगिरहेका प्रमुख चुनौतीका रुपमा देखिएका छन्। धेरैजसो स्टार्टअपले आफ्नै पुँजीमा व्यवसाय सञ्चालन गरिरहेका छन् । सरकारी अनुदान, सहुलियतपूर्ण कर्जा तथा परामर्श सेवाको उपयोग सीमित मात्रामा भएको पाइएको छ।
अध्ययनले स्टार्टअप व्यवसायले रोजगारी सिर्जना, स्थानीय स्रोतको उपयोग, नवप्रवर्तन प्रवर्द्धन तथा प्रदेशको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याइरहेको पनि उल्लेख गरेको छ। दिगो विकास र विस्तारका लागि वित्तीय पहुँच सहज बनाउने, इन्क्युवेसन तथा मेन्टरिङ सेवा विस्तार गर्ने, तीन तहका सरकारबीच नीतिगत समन्वय मजबुत बनाउने र उद्यमशीलता विकास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
अध्ययन प्रतिवेदनअनुसार कोशी प्रदेशमा अनुकूल वातावरण सिर्जना गर्न सकिए स्टार्टअप उद्यमले प्रदेशको आर्थिक वृद्धि, रोजगारी र नवप्रवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना छ।












