IME Life New

बीमा प्राधिकरणद्वारा विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षाका विषयवस्तु सम्बन्धी अन्तर्क्रिया

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा विद्यालय तहको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकहरूमा समावेश गरिने बीमा शिक्षा सम्बन्धी विषयवस्तुका बारेमा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषयका विषय समितिका पदाधिकारीहरू, विज्ञ तथा लेखकहरूसँग अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय तहमा अनिवार्य विषयका रूपमा रहेको सामाजिक अध्ययन विषयका पाठ्यपुस्तकहरूको परिमार्जन तथा पुनर्लेखनका क्रममा बीमा शिक्षा सम्बन्धी विषयवस्तु समावेश गर्ने सम्बन्धमा छलफल गरी ठोस निष्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

Esewa
Crest

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले विद्यालय तहदेखि नै पाठ्यपुस्तकमा बीमाको आवश्यकता र महत्व सम्बन्धी विषयवस्तु समावेश गरी बीमालाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नु आवश्यक रहेको बताए ।

अध्यक्ष शर्माले भने, “बीमाका बारेमा सानैदेखि जागरूक गराउनु आवश्यक छ, मानव जीवन र सम्पत्तिको वित्तीय सुरक्षण बीमाले गर्छ, बीमा मार्फत जीवनलाई सहजरूपमा अगाडि बढाउन सकिन्छ भन्ने जानकारी हुनु आवश्यक छ, यसो भएमा बीमाको दायरा बढ्छ, लागत घट्छ, जोखिम न्यूनीकरण हुन्छ र समग्रमा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यालय तहको अध्ययनका क्रममा विद्यार्थीहरूले बीमाका बारेमा बुझ्न सकून र अध्ययन पश्चात् अरूलाई पनि बीमाका बारेमा बुझाउन सकून भन्ने उद्देश्यले पाठ्यपुस्तकमा कहीं न कहीं बीमाका विषयवस्तु समावेश रहेको बताए ।

महानिर्देशक पौडेलले पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्न लागेको सन्दर्भमा बीमा शिक्षा सम्बन्धी विषयवस्तुलाई सन्तुलित रूपमा समावेश गरिने उल्लेख गर्दै परिमार्जित पाठ्यक्रम सबै प्रक्रिया पूरा गरी आगामी २०८४ सालको शूैक्षिकसत्रदेखि देशव्यापीरूपमा लागू हुने जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक एवम् सामाजिक अध्ययन विषय समितिका अध्यक्ष प्रा.डा. राम कृष्ण तिवारीले सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन तथा प्रश्नपत्र तयारीका क्रममा बीमा सम्बन्धी विषयवस्तुलाई समेत प्रतिविम्बित गर्न सम्बन्धित पदाधिकारी, विषय विज्ञ र लेखकहरूलाई आग्रह गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले विद्यालय तहको सामाजिक अध्ययन विषयका प्रस्तावित पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिकामा समावेश गर्न सकिने बीमा शिक्षा सम्बन्धी विषयवस्तु पहिचान गरी सुझाव सहित पाठ्यक्रम विकास केन्द्रलाई उपलब्ध गराउने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशिक पदम प्रसाद सोडारीले बीमा शिक्षा सम्बन्धी प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सामाजिक विषय अन्तर्गत कक्षा ४ देखि १२ का प्रस्तावित पाठ्यक्रममा बीमा शिक्षा सम्बन्धी सम्भावित विषयवस्तुहरूमाथि विस्तृत छलफल भएको थियो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषय समितिका पदाधिकारीहरू, विज्ञ तथा लेखकहरू र नेपाल बीमा प्राधिकरणका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS