काठमाडौं । खाडी मुलुकको तातो घाम होस् या मलेसियाको कारखानाको कठोर डिउटी आज लाखौँ नेपाली श्रमिक आफ्नो परिवारको भविष्य सुरक्षित गर्ने सपना बोकेर परदेशमा पसिना बगाइरहेका छन्।
महिनैपिच्छे पठाइने रेमिट्यान्स(विप्रेषण) ले देशको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ। तर ती श्रमिकहरूको आफ्नै जीवन र परिवारको दीर्घकालीन आर्थिक सुरक्षा भने अझै अनिश्चित देखिन्छ।
यही यथार्थलाई कथाको केन्द्रमा राख्दै एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेसबुक पेजमार्फत् हालै सार्वजनिक गरेको नयाँ टेलिभिजन कमर्सियल (भिडियो) ले प्रवासी नेपाली श्रमिकको जीवन, जोखिम र भविष्य योजनालाई भावनात्मक दृष्टिकोणबाट प्रस्तुत गरेको छ।
परदेशमा कमाई, तर नियमित किस्ता तिर्ने चुनौतीः
विज्ञापनमा देखाइने कथाले धेरै प्रवासीको वास्तविकता बोल्छ, निश्चित समयका लागि विदेश जाने, सीमित आम्दानी हुने, र भविष्य अनिश्चित रहने अवस्था। यस्तै परिस्थितिमा दीर्घकालीन बीमाशुल्क जोहो गर्नु धेरैका लागि कठिन चुनौती बन्दै आएको छ।
यसै सन्दर्भमा यो भिडियोले एशियन लाइफको सीमित भुक्तानी सावधिक बीमामा बीमितले पाँच वर्षसम्म बीमाशुल्क किस्ता तिरेर पन्ध्र वर्षसम्म बीमा सुरक्षा र लाभ प्राप्त गर्न सक्छन् भन्ने देखाइएको छ।
नेपाल बीमा प्राधिकरणले स्वास्थ्य परिक्षण प्रतिवेदन नचाहिने सीमासम्म अनलाइन बीमालेख जारी गर्न सकिने प्रावधान ल्याएर प्रवासी नेपाली श्रमिकको जीवन बीमाका लागि नीतिगत गाँठो फुकाई दिएपछि अचेल जीवन बीमा कम्पनीहरू श्रमिकको बीमालाई प्राथमिकता दिइरहेका छन् ।
गम्भीर प्रश्नको प्रष्ट उत्तरः
विज्ञापनले अप्रत्यक्ष रूपमा एउटा गम्भीर र महत्वपूर्ण प्रश्न उठाउँदै त्यसको जवाफ खोज्ने प्रयास पनि गरेको देखिन्छ। परदेशको कमाई सकिएपछि परिवारको सुरक्षा कसरी कायम राख्ने ? सीमित भुक्तानी बीमा योजना यही प्रश्नको व्यवहारिक उत्तरका रूपमा प्रस्तुत गरिएको छ।
श्रव्यदृश्यको भावनात्मक केन्द्र “बीमा” लाई आर्थिक कारोबारका रूपमा होइन, परदेशको रोजगारी सकिएपछि पनि परिवारसँग जोडरहने सुरक्षा डोरीका रूपमा चित्रण गर्नु हो। जुन सन्देश हरेकजसो दोश्रो घरबाट वैदेशिक रोजगारीमा गएका नेपाली परिवारको सन्दर्भमा अत्यन्त मार्मिक छ।
एआई र मानवीय संवेदनाः
एआईबाट बनाइएको जम्मा ४७ सेकेण्ड लामो भिडियो भएपनि यो विज्ञापनको दृश्य र संवाद यथार्थपरक छ। प्रवासी जीवनका संकेत, परिवारको प्रतीक्षा र भविष्यप्रतिको चिन्ता सहज रूपमा देखाइएका छन्।
यो भिडियोमा, क्यामेरा एङ्गल, क्लोजअप सट र पात्रको भावनात्मक अभिव्यक्ति अझ सशक्त बनाइएमा सन्देशको प्रभाव थप गहिरो हुन सक्थ्यो। त्यसैगरी, बीमा योजनाको कार्यविधि र लाभलाई थोरै दृश्यात्मक व्याख्या (इन्फोग्राफिक) मार्फत प्रस्तुत गरिएको भए दर्शकले सन्देश अझ स्पष्ट रूपमा बुझ्न सक्थे।
बीमा सचेतनातर्फ एक कदमः
समग्रमा, एशियन लाइफको यो श्रव्यदृश्य प्रवासी श्रमिक लक्षित बीमा सचेतनाको सकारात्मक प्रयासका रूपमा देखिन्छ। एशियन लाइफको गत महिना सार्वजनिक भिडियो कतै न कतै एक्कासी अभिभावकको अनुपस्थिति भए कसरी परिवार बाँच्ला भन्ने प्रश्न थियो। यो भिडियोमा चाहिँ अभिभावकको एउटा सही निर्णयले कसरी उनी जीवित छँदै सन्तानले सपना साकार पार्ने अवसर पाउँछन् भन्ने देखाइएको छ।
परदेशमा अहोरात्र खटिएर पसिना बगाउने अभिभावकले कसरी १५ वर्ष अघि नै जीवन बीमा गरिदिएर एउटा जिम्मेवार अभिभावकको भूमिका सफलरूपमा निर्वाह गरेका छन् भन्ने पनि सशक्त रूपमा देखाइएको छ। खाडी मुलुकमा रोजगार गरिरहेका श्रमिक पिताले समयमै समयमै सही निर्णय लिंदा उनको छोरीले आज विदेशमा उच्च शिक्षा अध्ययनका लागि पैसाको अभावमै अवसर गुमाउनुपर्ने छैन।
समग्रमा, एशियन लाइफको यो भिडियो नेपाली बीमा बजारमा प्रवासी श्रमिक लक्षित सचेतना केन्द्रित कर्पोरेट कम्युनिकेसनको प्रयासका रूपमा देखिन्छ।


















