काठमाडौं । सामसङ इनोभेसन क्याम्पस नेपालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु गरेको छ। युवालाई नेपालको डिजिटल अर्थतन्त्रका लागि तयार पार्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त एआई तथा बिग डेटा कार्यक्रम जुन २७ देखि डिसेम्बर ३१, २०२५ सम्म सञ्चालन भएको थियो।
कार्यक्रमले सहभागी विद्यार्थीहरूलाई व्यवहारिक सिकाइ, उद्योगसँग सान्दर्भिक ज्ञान तथा नेक्स्ट–जेनेरेसन प्रविधिहरूमा प्रत्यक्ष अनुभव प्रदान गरेको सामसङले जनाएको छ। कार्यक्रम समापन अवसरमा स्नातक भएका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै सम्मान गरिएको थियो भने कोडिङ तथा प्रोग्रामिङ पाठ्यक्रममा सहभागी हुन लागेका नयाँ विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको थियो ।
सन् २०२३ देखि सामसङ इनोभेसन क्याम्पसले सामसङको विश्वव्यापी सीएसआर दृष्टिकोण लाई अघि बढाउँदै युवालाई भविष्य–तयार सीपहरू प्रदान गर्दै आएको छ। यस पहलमार्फत नवप्रवर्तनकर्ता र समस्या समाधानकर्ताहरूको नयाँ पुस्ता विकास गर्न योगदान पुर्याउने लक्ष्य लिइएको छ।
सामसङ नेपालका म्यानेजिङ डाइरेक्टर चाङ उक जङले युवालाई नेपालको भविष्यको नवप्रवर्तनको प्रमुख शक्ति मान्दै भने, “युवालाई भविष्य–तयार सीपले सुसज्जित गर्नु केवल शिक्षासँग मात्र सम्बन्धित विषय होइन, यो देशको दीर्घकालीन प्रगतिमा गरिएको लगानी हो। सामसङ इनोभेसन क्याम्पसमार्फत हामी नेपालको डिजिटल अर्थतन्त्रमा नेतृत्व गर्न सक्ने युवालाई सशक्त बनाउन प्रतिबद्ध छौँ।” सामसङ इनोभेसन क्याम्पसको पाठ्यक्रम केवल प्राविधिक तालिममा सीमित नरही आवश्यक सफ्ट स्किल्ससँग जोडिएको छ।
डिजिटल साक्षरता, सिर्जनशीलता, सहकार्य, समस्या समाधान क्षमता तथा रोजगारीयोग्यता अभिवृद्धि गर्ने उद्देश्यसहित तयार गरिएको यस पाठ्यक्रमले सहभागीहरूलाई वास्तविक कार्यस्थलका लागि तयार पार्ने लक्ष्य राखेको छ।
कार्यक्रमको मुख्य विशेषता व्यवहारिक परियोजना आधारित सिकाइ हो, जहाँ विद्यार्थीहरूले सामाजिक रूपमा सान्दर्भिक तथा वास्तविक जीवनका चुनौतीहरूको समाधान डिजाइन गर्ने अवसर पाएका थिए।
एआई, बिग डेटा, इन्टरनेट अफ थिङ्स तथा कोडिङ र प्रोग्रामिङजस्ता उदीयमान प्रविधिहरू प्रयोग गर्दै सहभागीहरूले प्रविधिको व्यवहारिक प्रयोग र प्रभाव सिर्जना गर्ने सीप हासिल गरेका छन्।
पाठ्यक्रममा सहभागी हुन एल्गोरिदम, डेटा स्ट्रक्चर र प्रोग्रामिङमा आधारभूत ज्ञान आवश्यक हुने व्यवस्था गरिएको छ। उक्त कार्यक्रमको उद्देश्य युवापुस्तालाई भविष्य–तयार सीपले सुसज्जित गर्दै नेपालमा सशक्त नवप्रवर्तन इकोसिस्टम निर्माणमा योगदान पुर्याउनु रहेको सामसङले जनाएको छ।
पुल्चोक क्याम्पसमा आयोजित प्रमाणपत्र वितरण समारोहमा इन्जिनियरिङ संस्थानका रेक्टर प्रा.डा. खड्ग के.सी., पुल्चोक क्याम्पसका प्रमुख डा. सञ्जय उप्रेती तथा डिन डा. सुशील बी. बज्राचार्यको उपस्थिति रहेको थियो ।
शिक्षा र नवप्रवर्तनमार्फत दीर्घकालीन प्रगति सम्भव हुन्छ भन्ने विश्वाससहित सामसङ इनोभेसन क्याम्पस नेपालले भविष्यमा पनि युवालाई आवश्यक ज्ञान, उपकरण र सिप प्रदान गर्दै नेपालको बढ्दो प्रविधि इकोसिस्टमलाई सुदृढ बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।












