काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्ससँग जोडिएको एउटा घातक रोग दाबीको मुद्दामा नेपाल बीमा प्राधिकरणले महत्वपूर्ण फैसला सुनाएको छ। बीमा गरेको १८० दिन नपुग्दै रोग पहिचान भएमा बीमा कम्पनीले दाबी भुक्तानी दिनु नपर्ने कानुनी व्यवस्थालाई यस फैसलाले पुनर्स्थापित गरिदिएको छ।
जीवन बीमासँगै घातक रोगको सुविधा लिनुभएको छ भने यसको प्रतीक्षा अवधिबारे थाहा पाउनु अत्यन्त जरुरी छ। हालै बीमा प्राधिकरणले सिटिजन लाइफ इन्स्योरेन्सको एउटा मुद्दामा फैसला गर्दै बीमा गरेको १८० दिन नपुग्दै घातक रोग प्रमाणित भएमा कम्पनीले दाबी तिर्नु नपर्ने ठहर गरेको छ।
के थियो घटना ?
बीमित मनिषा कुमारी यादवको नाममा सिटिजन लाइफबाट २०७९ चैत २९ गते ५ लाख रुपैयाँको घातक रोग सुविधासहितको जीवन बीमा गरिएको थियो। बीमा गरेको करिब ३ महिनापछि ९८ दिनमा बीमितको स्वास्थ्यमा समस्या आयो र २०८० असार २१ गते वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा जाँच गराउँदा उनलाई मिर्गौला घात भएको प्रमाणित भयो।
बीमितका तर्फबाट शैलेन्द्र कुमार यादवले घातक रोगबापतको ५ लाख रुपैयाँ दाबी गरे पनि कम्पनीले प्रतीक्षा अवधि पूरा नभएको भन्दै भुक्तानी दिन अस्वीकार गरेपछि मुद्दा प्राधिकरण पुगेको थियो।
प्राधिकरणले यो विवादबारे फैसला गर्दा जोखिम लागू हुन अनिवार्य रहेको प्रतीक्षा अवधिलाई फैसलाको मुख्य आधार बनाएको थियो । बीमा प्राधिकरणले सिटिजन लाइफको पूरक करार अध्ययन गर्दा घातक रोग सुविधाका लागि केही स्पष्ट सर्त रहेको पायो । घातक रोग सुविधा सुचारु हुन बीमा सुरु भएको मितिले १८० दिन अर्थात् करिब ६ महिनासम्म कुनै घातक रोग लागेको हुनुहुँदैन। यसबाहेक रोग निदान अर्थात् पहिचान भएको अवस्थामा बीमित कम्तीमा ३० दिनसम्म जीवितै रहेको हुनुपर्छ।
प्राधिकरणको ठहर
प्रस्तुत दाबीमा बीमालेख २०७९ चैत २९ मा जारी भएको र घातक रोगको पहिचान २०८० असार २१ मा भएको देखिन्छ। यो अवधि बीमा सुरु भएको मात्र ८५ दिन हो। करारको सर्तअनुसार १८० दिनको प्रतीक्षा अवधि व्यतित नभई रोग पहिचान भएको हुँदा बीमकको दायित्व सिर्जना हुँदैन। यस आधारमा प्राधिकरणले २०८१ पुस ४ गते बीमितको मागदाबी खारेज हुने फैसला सुनाएको छ।
किन राखिन्छ प्रतीक्षा अवधि ?
बीमा क्षेत्रमा घातक रोगका लागि निश्चित प्रतीक्षा अवधि राख्नुको मुख्य उद्देश्य बीमामा हुन सक्ने जोखिम व्यवस्थापन गर्नु हो। यदि कसैलाई आफूलाई रोग लागेको शंका छ र तुरुन्तै बीमा गरेर दाबी लिन खोज्छ भने त्यस्तो प्रतिकूल छनोट रोक्न यो नियम लगाइन्छ।
यो सुविधा लामो समयसम्म स्वस्थ रहेका बीमितलाई भविष्यमा आइपर्ने ठूला स्वास्थ्य संकटमा आर्थिक सहयोग पुर्याउनका लागि हो।
बीमितले जान्नैपर्ने विषय
बीमा गर्दा धेरैले घातक रोग को सुविधा त लिन्छन् तर यसका सर्त बुझ्दैनन्। यो फैसलाले बीमितलाई घातको रोगको दाबी बीमा गर्नेबित्तिकै पाइँदैन र कम्पनीअनुसार यो प्रतीक्षा अवधि ९० देखि १८० दिनसम्म हुन सक्छ।
घातक रोग सुविधा एउटा पूरक करार हो। जसका सर्तहरु मूल जीवन बीमालेखका सर्तहरुभन्दा फरक र कडा हुन सक्छन्।


















