IME Life New

मापसे र चालक फेर्ने दाउ दुवै असफल, सिद्धार्थ प्रिमियरको मोटर दाबीमा प्राधिकरणको ब्रेक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सवारी दुर्घटना भएपछि बीमा रकम पाउनका लागि वास्तविक तथ्य लुकाउने र चालकसमेत फेर्ने प्रयास कसरी असफल हुन्छ भन्ने एउटा प्रतिनिधि उदाहरण नेपाल बीमा प्राधिकरणको हालैको फैसलाले देखाएको छ।

मादक पदार्थ सेवन मापसे गरेर चलाएको गाडी दुर्घटना भएपछि दाबी लिनका लागि छोरोले नभएर बुवाले नै गाडी चलाएको भन्दै फर्जी विवरण पेश गर्दा बीमितले रित्तो हात फर्किनुपरेको छ।

Esewa
Crest

के थियो घटना ?

२०७९ साउन ७ गते बिहान ४ः५० बजे रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बा–०१–०२५–च ३५४३ नम्बरको क्रेटा जिप अनियन्त्रित भई बिजुलीको पोल र डिभाइडरमा ठोक्कियो। दुर्घटनामा परेर जिपले एउटा मोटरसाइकललाई समेत ठक्कर दियो र जिपमा सवार व्यक्तिहरु घाइते भए।

गाडीका बीमित कमल घिमिरेले नेपाल बीमा प्राधिकरणमा उजुरी दिँदै गाडी आफैँले चलाएको र अचानक दुर्घटना भएको दाबी गर्दै क्षतिपूर्तिको माग गरेका थिए। तर, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले अनुसन्धान गर्दा घटनाको स्वरुप अर्कै देखियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको मुचुल्काअनुसार उक्त जिप कमल घिमिरेले नभई उनका छोरा सचिन घिमिरेले चलाएका थिए। दुर्घटनामा घाइते भएपछि बुटवलस्थित चौराह हस्पिटलमा उपचार गराउँदा चिकित्सकले तयार पारेको रिपोर्टमा चालक सचिनले मादक पदार्थ सेवन गरेको स्पष्ट उल्लेख थियो।

प्राधिकरणको अनुसन्धान र ठहर

बीमा प्राधिकरणले दुवै पक्षको कागजात अध्ययन गर्दा बीमितले परम सद्विश्वासको सिद्धान्त उल्लंघन गरेको पायो। मोटर बीमा दरसम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद १ को प्रकरण ५ (ग) मा स्पष्ट व्यवस्था के छ भने चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेको कारणले भएको क्षति, हानि वा नोक्सानीको दाबी भुक्तानी बीमकले गर्ने छैन।

बीमितले छोराले मापसे गरेर दुर्घटना गराएको तथ्य लुकाउन आफैँले गाडी चलाएको दाबी गरे पनि अस्पताल र प्रहरीको प्रमाणका अगाडि त्यो टिकेन। बीमा प्राधिकरणले २०८१ असोज २२ गते फैसला सुनाउँदै बीमितको मागदाबी नपुग्ने ठहर गरेको छ। फैसलामा भनिएको छ, ‘दुर्घटनाको समयमा चालक सचिन घिमिरे रहेको र उनले मापसे गरेको अस्पतालको डिस्चार्ज टिकटबाट पुष्टि हुन्छ। बीमा एउटा करार हो र करारका सर्तहरु उल्लंघन भएको अवस्थामा कम्पनीले क्षतिपूर्ति दिन बाध्य हुँदैन।

यससँगै प्राधिकरणले बीमित कमल घिमिरेको निवेदन खारेज गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई दायित्वबाट मुक्त गरिदियो।

बीमितले हेक्का राख्नुपर्ने विषय

यो घटनाले बीमा क्षेत्रमा दुईवटा महत्वपूर्ण पाठ सिकाएको छ। पहिलो मापसे गरेर सवारी चलाउँदा ज्यानको जोखिम त हुन्छ नै दुर्घटना भएमा बीमा कम्पनीले गाडीको क्षतिपूर्तिसमेत दिँदैनन्। दोस्रो दुर्घटनापछि चालक फेर्ने वा घटनाको विवरण बंग्याउने प्रयासले अन्ततः कानुनी झमेलामात्र निम्त्याउँछ, लाभ दिँदैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS