काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मंसिर २५ गते सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा सचेतनाको महत्व र मधेश प्रदेशमा कृषि तथा पशुपन्छी बीमाको विद्यमान अवस्था लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागीहरूले वास्तविक कृषकलाई बीमाका बारेमा जानकारी नै नभएको, बीमा गर्ने प्रक्रिया झन्झटयुक्त रहेको, बीमा दाबी भुक्तानीमा समस्या देखिएको, कृषि बीमा अभिकर्तामा समस्या रहेको, कृषकसम्म बीमा कम्पनीहरू नपुगेको र स्थानीय तहले बीमालाई सहयोग पुग्ने गरी कार्यक्रम तथा बजेट ल्याउनु आवश्यक रहेको लगायतका धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयकी प्रमुख आर्या रावलले बीमाको परिचय र महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र कृषि तथा पशुन्छी बीमाको दायरा विस्तारमा सरोकारवालाहरूको भूमिका लगायतका विषयमा प्रस्तुती दिएकी थिइन् ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र कुमार महासेठ, कृषक, बीऊविजन तथा कृषि व्यवसायी, निर्जीवन बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर र कृषि बीमा अभिकर्ता लगायतको सहभागिता रहेको थियो ।

















