काठमाडौं । पछिल्लो चार दशकमा नेपालले विपदजन्य क्षतिबाट झन्डै ७ अर्ब अमेरिकी डलर बराबरको क्षति व्यहोर्नुपरेको छ।
भूकम्प, बाढी, पहिरो, आगलागी, कोरोना महामारी लगायतका संकटका कारण नेपालले भोग्नुपरेको क्षति झन् झन् बढ्दै गएको छ। पछिल्लो समयमा जलवायु परिवर्तन र अप्रत्याशित संकटहरु तीव्र हुँदै जाँदा, नेपालको बढ्दो विपद् क्षतिले यसको विकास प्रगतिलाई जोखिममा पारिरहेको छ।
नेपालले विपदपछिको क्षति व्यवस्थापन र पुनर्निर्माणका लागि वार्षिक ५० अर्ब रूपैयाँ लगानी गर्नुपरेको छ। यो लगानीले दिगो समाधान भने दिन सकेको छैन।
गत भदौ २३ र २४ गते भएको हिंसात्मक विरोध प्रदर्शनको क्रममा आगजनी र तोडफोडबाट भएको क्षतिले २३ अर्ब २२ करोड रुपैयाँबराबरको बीमा दाबी परेको छ। अक्टोबर ९ सम्म देशभरि हालैका घटनाहरुपछि कुल ३ हजार ९९ बीमा दाबी दायर गरिएका थिए।

















