काठमाडौं । दक्षिण पूर्वी एशियाली मुलुक सिंगापुरले अनलाइन ठगीको घटना नियन्त्रण गर्न ठगीमा दोषी ठहरिनेलाई कोर्रा हान्ने कानून लागू गरेको छ।
एक वर्षको अवधिमा दर्ज भएका अपराधका घटनामध्ये ६० प्रतिशत अनलाइन ठगीको घटना भएपछि सरकारले बेलायती औपनिवेशिक शासनको पालाको सजायव्यवस्थालाई अझै निरन्तरता दिइरहेको छ।
यसै हप्ता, सिंगापुरको संसदले फौजदारी कानूनमा संशोधन गर्दै ठगीमा संलग्नहरूलाई दण्डको रूपमा कोर्रा प्रहारको सजाय लागू गरेको हो । यस वर्षको पहिलो अर्द्ध वार्षिक अवधिमा मात्र दशौं हजार ठगीका घटनाहरु दर्ज गरिएको थियो जसको परिणामस्वरूप लगभग ३८ करोड ५० लाख अमेरिकी डलर ठगी भएको थियो।
विदेश मामिला तथा गृह मामिलाका वरिष्ठ राज्यमन्त्री सिम एनले एक विज्ञप्तिमा भनेका छन्, “ठगी गर्नेलाई छडीको कम्तिमा छ प्रहारको सजाय दिइनेछ।”
स्थानीय सञ्चारमाध्यमले यो सजाय २४ प्रहारसम्म हुन सक्ने उल्लेख गरेका छन् ।

















