IME Life New

छुन मिल्ने होलोग्रामः जापानको क्रान्ति, लाइटलाई नै भौतिक रुपमा अनुभूति गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानका अनुसन्धानकर्ताहरुले भविष्यको प्रविधिमा एक ऐतिहासिक फड्को मारेका छन्। उनीहरुले यस्तो होलोग्राम प्रविधि विकास गरेका छन्। जसलाई देख्नमात्रै होइन छुन र महसुस गर्न पनि सकिन्छ।

युनिभर्सिटी अफ सुकुबा र युनिभर्सिटी अफ टोकियोका वैज्ञानिकहरुले फरक–फरक दुईवटा प्रणालीमार्फत यो अद्भुत कार्य सम्भव पारेका छन्। यो प्रविधिले डिजिटल दुनियाँलाई भौतिक वास्तविकतासँग जोड्दै भविष्यमा शिक्षा, स्वास्थ्य, मनोरञ्जन र दूरसञ्चारको क्षेत्रमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

Esewa
Crest

प्लाज्मामा आधारित ‘फेयरी लाइट्स’ होलोग्राम

युनिभर्सिटी अफ सुकुबाका अनुसन्धानकर्ताहरुले हावामा तैरिने र स्पर्श गर्न मिल्ने होलोग्रामहरु सिर्जना गर्न फेम्टोसेकेन्ड लेजर स्पन्दन प्रविधिको प्रयोग गरेका छन्।

वैज्ञानिकहरुले हावामा फेम्टोसेकेन्ड (एक सेकेन्डको १० लाख भागको एक भाग) जत्तिको अत्यन्त छोटो अवधिका लेजर प्रकाशहरु प्रहार गर्छन्। यसले हावाका अणुहरुलाई आयनीकृत गरी प्लाज्मा का सूक्ष्म विन्दुहरु सिर्जना गर्छ। यी विन्दु प्रकाशका साना, हेरफेर गर्न मिल्ने त्रि–आयामिक (थ्रीडी) आकारहरुमा तैरिरहेका देखिन्छन्।

जब प्रयोगकर्ताले यी तैरिरहेका प्रकाश विन्दुहरुलाई छुन्छन् तब ती विन्दुहरुले सुरक्षित, हलुका झट्का वा कम्पन उत्पन्न गर्छन्। छालाले यी कम्पनहरु महसुस गर्छ। जसले प्रयोगकर्तालाई पन्जा वा कुनै सतहको प्रयोग नगरी डिजिटल वस्तुलाई छोएको अनुभूति दिन्छ।

यस प्रणालीमा जडान गरिएको क्यामेराले प्रयोगकर्ताको औँला कहाँ छ भनेर ट्रयाक गर्छ। जसले गर्दा होलोग्रामहरुले प्रतिक्रिया दिन सक्छन्।

अल्ट्रासाउन्डमा आधारित ‘ह्याप्टोक्लोन’ प्रणाली

युनिभर्सिटी अफ टोकियोले भने अल्ट्रा साउन्डको प्रयोग गरेर स्पर्शको अनुभूति दिने प्रविधि विकास गरेको छ। जसलाई ‘ह्याप्टोक्लोन’ भनिन्छ।

यस प्रणालीमा अल्ट्रासोनिक ध्वनि–उत्पादक यन्त्रहरुको बाक्लो जाली प्रयोग गरिएको हुन्छ। यसले अदृश्य रुपमा दबाब विन्दुहरु (प्रेसर प्वइन्ट) सिर्जना गर्नका लागि ध्वनि तरंगहरुलाई हावामा केन्द्रित गर्छ।

यी दबाब विन्दुहरुले तैरिरहेको होलोग्रामलाई छोएको जस्तो अनुभव नक्कल गर्छन्। अहिले यो अनुभूति हलुका दबाबमा सीमित छ। तर, अनुसन्धानकर्ताहरुले भविष्यमा थप वास्तविक स्पर्श अनुभव दिन सकिने दाबी गरेका छन्।

हालका सीमितता र भविष्यको सम्भावना

फेयरी लाइट्स होलोग्रामहरु प्रायः केही सेन्टिमिटरसम्म मात्रै ठूला हुन्छन्। अल्ट्रासाउन्ड प्रणालीले पनि केवल हलुका स्पर्श मात्रै सिमुलेट गर्न सक्छ। ठोस वस्तुलाई छोएको जस्तो महसुस दिन सक्दैन। यी दुवै प्रणाली महँगा छन् र धेरै ऊर्जा खपत गर्छन्।

यो प्रविधिले तत्कालै भिजुअल प्रस्तुति र शैक्षिक क्षेत्रमा क्रान्ति ल्याउनेछ। चिकित्सा विज्ञानका विद्यार्थीहरुले अब मानव शरीरका अंगहरुलाई छुन मिल्ने गरी अध्ययन गर्न सक्नेछन्। मनोरञ्जन र गेमिङको दुनियाँमा पनि ठूलो परिवर्तन आउनेछ। जहाँ नयाँ पुस्ताका खेलहरुमा स्पर्शयोग्य नियन्त्रकहरु उपलब्ध हुनेछन्। यसबाहेक शिक्षा क्षेत्रमा विज्ञान र गणितका कक्षाहरुमा विद्यार्थीहरुले डिजिटल वस्तुहरुलाई चलाएर हेर्न पाउनेछन्।

लामो समयपछि यो प्रविधिले दूर उपस्थितिको अवधारणालाई पूर्ण रुपमा परिवर्तन गर्नेछ। टाढा रहेका व्यक्तिहरुसँगको बैठकमा सहभागीहरुको भौतिक अवतारलाई छुन र हात मिलाउन सम्भव हुनेछ। यसका साथै यसले चिकित्सा तालिम मा क्रान्तिकारी सुधार ल्याउनेछ। जहाँ डाक्टरहरुले वास्तविक त्रि–आयामिक भर्चुअल टिस्युमा शल्यक्रिया अभ्यास गर्न सक्नेछन्।

सकारात्मक र नकारात्मक पक्ष

यो प्रविधिको सबैभन्दा ठूलो फाइदा भनेको यसले डिजिटल सामग्रीलाई अन्तरक्रियात्मक र भौतिक प्रतिक्रिया दिन सक्नु हो। यसबाट प्राप्त हुने त्रिआयामिक दृश्यावलोकन (थ्रीडी) सुरक्षित र बढी वास्तविक हुन्छ। साथै, यसले टाढाको सहकार्यको नयाँ स्वरुप सक्षम पार्छ र चिकित्सा, कला, खुद्रा व्यापारलगायत सबै क्षेत्रमा उच्च सम्भावना बोकेको छ।

यद्यपि, यो प्रविधि अहिले सुरुआती चरणमा छ। यसका डिस्प्लेहरु सानो हुने र प्रणालीहरु जटिल हुने गर्छन्। यसका लागि महँगो र शक्तिशाली उपकरण आवश्यक पर्छ। अर्को कमजोरी भनेको यो प्रविधि पूर्ण रुपमा पोर्टेबल (बोकेर हिँड्न मिल्ने) वा घरका लागि व्यावहारिक नहुनु हो। स्पर्शको अनुभूति सीमित हुनु र वस्तु ठोस महसुस नहुनु पनि यसको हालको कमजोरी हो। यसका साथै होलोग्राम प्रोग्रामिङका लागि विशेष सीप चाहिने हुन्छ।

जापानले प्लाज्मा र अल्ट्रासाउन्ड प्रविधिमा गरेको यो सफलताले छुन मिल्ने प्रकाश को युग सुरु भएको संकेत गर्छ। यद्यपि यो प्रविधि हाल सानो आकार र उच्च लागतमा सीमित भए पनि यसले भविष्यमा हाम्रो कोठा, सडक र उपकरणहरुलाई स्पर्श गर्न मिल्ने अन्तरक्रियात्मक प्रकाशले भर्नेछ। मनोरञ्जन, शिक्षा, चिकित्सा र दैनिक जीवनमा यसको ठूलो प्रभाव पर्ने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS