काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको हुलदंगाबाट हालसम्म करिब सवा २३ अर्ब रुपैयाँबराबरको बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणले असोज २३ गतेसम्म प्राप्त विवरण सार्वजनिक गर्दै १४ वटा निर्जीवन र ४ वटा लघु निर्जीवन बीमकमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँबराबरको बीमा दाबी परेको जनाएको छ। यो कुल ३ हजार ९९ वटा दाबीको रकम हो। जसमा बीमा कम्पनीहरुले हालसम्म १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी रकम सम्पत्ति बीमातर्फ परेको छ। सम्पत्ति बीमातर्फ ६५३ वटा दाबीको १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गर्नुपर्ने देखिएको छ। जसमा कम्पनीहरुले १ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।
यसैगरी दोस्रो दाबी रकम मोटर बीमातर्फ परेको छ। कम्पनीहरुले मोटर बीमातर्फ २ हजार २०६ वटा दाबीको ३ अर्ब ४१ करोड ६ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। जसमा कम्पनीहरुले २४ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।
यसैगरी कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबीको ३८ करोड ३ लाख रुपैयाँ, परिवहन बीमातर्फ १२ वटा दाबीको १ करोड ६३ लाख रुपैयाँ र अन्य बीमातर्फ ३८ वटा दाबीको ३५ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। जसमध्ये कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ ८७ लाख २९ हजार रुपैयाँ र अन्य बीमातर्फ ५ लाख ४९ हजार रुपैयाँ भुक्तानी गरिसकेका छन्।

















