काठमाडौं । अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ।
नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार देशका विभिन्न स्थानमा शुक्रबार र शनिबारको भारी वर्षाका कारण सिर्जित बाढी, पहिरो चट्याङमा परी ४९ जनाको ज्यान गएको हो। नेपाल प्रहरीको साढे १ बजेसम्मको तथ्यांकअनुसार बाढीपहिरोमा परी इलाम जिल्लामा मात्रै ३७ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्। एकजना अझै बेपत्ता छन्।
त्यस्तै वर्षाका कारण सडकमा अनियन्त्रित भई गाडी दुर्घटना हुँदा पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् भने उदयपुरमा पहिरो खस्दा २ जनाको ज्यान गएको छ। खोटाङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार रौतहटमा चट्याङ लागेर ३ जनाले ज्यान गुमाएका छन्। बाढीले बगाएर रसुवा ४ जना, बारामा १ जना र काठमाडौंमा १ जना बेपत्ता भएका छन्। मकवानपुरमा चट्याङ लागेर एकजना घाइते भएका छन्।

















