काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि मित्रराष्ट्र जापानका राजदूत महामहिम मायड टुरोबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
उक्त अवसरमा अर्थमन्त्री खनाल र जापानी राजदूत टुरोबीच नेपालको हालको परिवर्तित अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध र जापानले नेपालको आर्थिक सामाजिक विकासमा पुर्याइरहेको सहयोगका विषयमा छलफल भएको थियो।
छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माण लगायत आर्थिक सामाजिक विकासका कार्यहरुलाई निरन्तरता दिइने बताए।
सोही अवसरमा निर्माणाधीन नागढुंगा टनेलमार्ग परियोजना, तनहुँ जलविद्युत आयोजनालगायतका सहयोगका क्षेत्रहरु र निकट भविष्यमा सम्झौता हुन गइरहेको कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट तथा प्रोग्राम फर इमर्जेन्सी रिह्याबिलिटेसन अफ सिन्धुसली (फ्लड अफेक्टेड)समेतका विविध विषयमा कुराकानी भयो। बैठकमा अर्थसचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माको समेत उपस्थिति थियो।

















