काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको आज बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ९ निर्णय गरेको छ।
प्रधानमन्त्री कार्की नेतृत्व मन्त्रिपरिषदको बैठकले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकालाई सहिद घोषणा गर्ने, असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्दोलनमा ज्यान गुमाएकोहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्ठि गर्ने र मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख रुपैयाँ दिने निर्णय पनि सरकारले गरेको छ।
यसैगरी घाइतेहरुको निःशुल्क उपचार गर्ने, शव लैजानका लागि निःशुल्क सवारीसाधन र दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने तथा दाहसंस्कारमा सघाउने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ।
बैठकले आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानविन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरी त्यसको प्रतिवेदनका आधारमा कारबाही गर्ने, सहादत प्राप्त गरेकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क बनाउने र अघिल्लो मन्त्रिपरिषदमा पेस भएका प्रस्तावहरु सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय पनि गरेको छ।

















