काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी पाइन्छ भन्नेमा सर्वसाधारण आश्वस्त हुने गरी काम गर्न बीमकहरुलाई निर्देशन दिएका छन्।
जेनजी आन्दोलनका क्रममा भएका क्षतिको विषयमा प्राधिकरणको केन्द्रीय कार्यालयमा आज निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले यस्तो निर्देशन दिएका हुन्। उनले बीमा गरेपछि बीमा दाबी पाइन्छ भन्नेमा सर्वसाधारण आश्वस्त हुने गरी काम गर्न र बीमा दाबीसम्बन्धी तथ्यांक सङ्कलन तथा दाबी भुक्तानीमा सहजीकरण गर्न फोकल पर्सन तोकेर सार्वजनिक रुपमा जानकारी दिन बीमकहरुलाई निर्देशन दिएका छन्।
सुवेदीले हालको गैरप्राकृतिक विपद्मा भएका क्षतिको बीमा दाबी भुक्तानीलाई सरल एवं सहज बनाउन प्राधिकरणले बीमा नियमावली, २०८१ मा भएको व्यवस्थाअनुरुप बीमा दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि बनाई लागू गर्न सक्ने व्यवस्था भएकाले सो सम्बन्धमा ३ दिनभित्र रायसुझाव दिन पनि बीमक तथा पुनर्बीमकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आग्रह गरे।
कार्यकारी निर्देशक सुवेदीले बीमकहरुले आफूले बीमा गरेका भौतिक तथा अन्य सम्पत्तिमा भएको क्षतिका बारेमा जानकारी पाएमा त्यसका बारेमा यथाशिघ्र बीमितलाई जानकारी दिएर दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनका लागि पहल गर्नसमेत निर्देशन दिए।
प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गरेको हो। छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये सानो दाबी रकम बीमकले तत्कालै भुक्तानी गर्नसक्ने, त्यसभन्दा माथिको बीमा दाबी भुक्तानीको हकमा नियमबमोजिम पुनर्बीमकले पेश्कीस्वरूप अग्रिम रुपमा रकम दिनुपर्ने र तरलता व्यवस्थापनमा पुनर्बीमकले सहजीकरण गर्नुपर्ने विचार व्यक्त गरे। उनीहरुले आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति भएका भौतिक सम्पत्तिको बीमा दाबी भुक्तानीका सन्दर्भमा विशेष परिस्थितिका कारण सर्भे प्रतिवेदन प्राप्त गर्न नसकिने र वडा कार्यालय तथा प्रहरी कार्यालयहरू क्षतिग्रस्त भएका कारण सिफारिस समेत प्राप्त गर्न कठिन हुने भएकाले न्यूनतम कागजातका आधारमा दाबी भुक्तानीको व्यवस्था गर्नुपर्नेलगायतका धारणा राखे।
यसैगरी पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले बीमकले पुनर्बीमाका लागि प्रस्ताव गर्दा तथ्यांक विश्वसनीय हुनुपर्ने र दाबी भुक्तानीका सन्दर्भमा गर्न सकिने सहयोग गर्न पुनर्बीमकहरु तयार रहेकोलगायतका धारणा राखे।
कार्यक्रममा प्राधिकरणका निर्देशक निर्मल अधिकारी तथा निर्देशक शाम्भराज लामिछाने र निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता थियो।
यसैगरी बीमा प्राधिकरणले हालको गैरप्राकृतिक विपद्को अवस्थामा बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने सम्बन्धमा बीमा सर्भेयरको भूमिकाका सम्बन्धमा आजै बीमा सर्भेयर संघ नेपालसँग छलफल गरेको छ।
छलफलमा बीमा सर्भेयर संघका पदाधिकारीहरुले हालको विषम अवस्थालाई ध्यानमा राखी न्यूनतम कागजातका आधारका सर्भे प्रतिवेदन बुझाउने व्यवस्था गर्नुपर्ने, सर्भेयरहरुले समानुपातिरूपमा काम पाउनुपर्ने, क्षति भएका स्थानमा बीमा सर्भेयरले सहजै प्रवेश पाउने व्यवस्था गर्नुपर्ने, सर्भेयरहरुलाई बढी जिम्मेवार बनाउनुपर्ने लगायतका धारणा राखेका थिए।
छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले बीमा नियमावली, २०८१ मा गम्भीर प्रकृतिको विपद्को समयमा प्राधिकरणले दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि लागू गर्ने व्यवस्था भएबमोजिम प्राधिकरणले संक्षिप्त कार्यविधि लागू गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यस सम्बन्धमा ३ दिनभित्र राय–सुझाव दिन सर्भेयर संघका पदाधिकालाई आग्रह गरे।
कार्यकारी निर्देशक सुवेदीले बीमा सर्भेयरले आफूले प्राप्त गरेको इजाजतपत्रका आधारमा हालको अवस्थामा पनि सहजै काम गर्न सक्ने स्पष्ट गरे।
कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी, निर्देशक निर्मल अधिकारी तथा निर्देशक शाम्भराज लामिछाने र बीमा सर्भेयर संघ नेपालका पदाधिकारीको सहभागिता थियो।

















