IME Life New

निजी क्षेत्रमा आशा र ऊर्जा भर्न नवगठित सरकारले कुनै कसर बाँकी नराख्नेमा सिबिफिन विश्वस्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले हाल विषम परिस्थितिमा निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि नवगठित सरकारले कुनै कसर बाँकी नराख्नेमा विश्वास व्यक्त गरेको छ।

सिबिफिनले आज एक विज्ञप्ति जारी गर्दै यस्तो विश्वास व्यक्त गरेको हो। ‘अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सिर्जना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि नवगठित सरकारले कुनै कसर बाँकी नराख्नेमा सिबिफिन विश्वस्त रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्वहरुसँग सजग हुँदै अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकका रुपमा रहेका सबल र जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना बैंकिङ सेवाहरु सहजरुपमा सञ्चालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन समेत सिबिफिन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।’

Esewa
Crest

सुशासनको प्रत्याभूतिका लागि हाम्रा कलिला युवाहरुको पछिल्लो पुस्ता जेनजी अभियन्ताहरुको आह्वानमा भएको आन्दोलनको क्रममा उत्पन्न कठिन एवं भयावह अवस्थाले अन्तरिम सरकारको गठनसँगै शान्तिपूर्ण अवतरण पाएको छ र मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको विज्ञप्तिमा उल्लेख छ। ‘यस आन्दोलनको क्रममा देखिएका दुखद् एवं त्रासदीपूर्ण घटनामा अमूल्य जीवन अर्पण गरेका होनहार युवाहरुप्रति उच्च सम्मानसहित कर्तव्य पालनाका क्रममा जीवन गुमाएका सुरक्षाकर्मी तथा दिवंगत सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै आफ्ना सन्ततीको वियोगमा शोकाकुल परिवारजनामा गहिरो समवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

विगतको महाभूकम्प एवं कोरोनाकालको जर्जर अवस्थाबाट तंग्रिदै र अर्थतन्त्रले गति लिँदै गर्दाको समयमा नयाँ नेपालको सपना बोकेका युवाहरुको पवित्र उद्देश्यसहित आह्वान भएको आन्दोलनका क्रममा भएको मानवीय र निहीत स्वार्थप्रेरित आक्रमणबाट देशैभरि सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति सिबिफिन स्तब्ध छ। ‘गहिरो दुःख प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

अत्यासलाग्दो मानवीय एवं भौतिक क्षतिका बाबजुद सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ चरणमा प्रवेशका लागि स्पष्ट सन्देश दिएको र प्रस्थान विन्दु बनेको यस आन्दोलनको जगमा उभिएर युवा पुस्ताको आवाज र आकांक्षाहरुलाई प्रतिनिधित्व गरेर नवगठित सरकारसँग हातेमालो गर्दै शान्त, सुशासित एवं समुन्नत राष्ट्र निर्माणको अभियानमा एकाकार भई अगाडी बढ्न बैंक तथा वित्तीय क्षेत्र र यस क्षेत्रको छाता संस्था सिबिफिन सदैव तत्पर रहने सिबिफिनले प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS