काठमाौं । देशमा हालै भएको प्रदर्शनका क्रममा महत्वपूर्ण भौतिक संरचनाहरू तथा निजी क्षेत्रका सम्पत्तिहरूमा भएको तोडफोड र आगजनीप्रति राष्ट्रिय व्यवसायिक पहल गम्भीर चिन्ता व्यक्त गर्दै ती कार्यहरूको घोर भत्सर्ना गरेको छ ।
यस किसिमका गतिविधिहरूले देशको अर्थतन्त्रमा गहिरो असर पार्ने निश्चित रहेको राष्ट्रिय व्यवसायिक पहलको भनाई छ । जसबाट पुनः सामान्य अवस्थामा फर्कन लामो समय लाग्न सक्छ भन्नेमा राष्ट्रिय व्यवसायिक पहलले सचेत गराएको छ ।
निजी क्षेत्रमा भएको जनधनको क्षतिको न्यायोचित क्षतिपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । साथै, प्रदर्शनका क्रममा ज्यान गुमाउने सम्पूर्ण युवाका परिवारजनप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माहरूको चीर शान्तिको कामना र उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
जेनजीले भ्रष्टाचारको अन्त्य गर्ने उद्देश्यले चलाएको यस अभियानमा राष्ट्रिय व्यवसायिक पहलको पूर्ण ऐक्यबद्धता रहेको बताइएको छ । भ्रष्टाचारप्रति शुन्य सहनशीलताका साथ अबको मार्ग तय गरिनुपर्ने राष्ट्रिय व्यवसायिक पहलको भनाई छ । अन्तरिम सरकार गठनको प्रक्रियामा रहिरहँदा मानवीय तथा भौतिक सम्पत्तिको सुरक्षामा चुनौती देखिएको छ। तसर्थ, हाल शान्ति सुव्यवस्थामा सक्रिय नेपाली सेना तथा अन्य निकायहरूलाई देशमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न, जनताको जीउधनको सुरक्षाको प्रत्याभूति दिलाउन यथाशीघ्र प्रभावकारी कदम चाल्न अनुरोध गरेको छ ।

















